काठमाण्डौ । राष्ट्रप्रमुखले बोलेको कुरामा सर्वसाधारण नागरिकले विश्वास राख्ने कि नराख्ने ? धेरैको उत्तर हुनसक्ला, निश्चित रुपमा राख्ने । तर नेपालमा बसेर यहाँको नागरिक भएर राष्ट्रप्रमुखले बोलेको कुरामा तपाईंले विश्वास राख्न थाल्नुभयो भने तपाईंलाई धोका पनि हुनसक्छ । यस्तै भइदियो अछामका राउटेहरुलाई । 
 

राष्टपति विद्यादेवी भण्डारीले केही समयअघि राउटेहरुलाई दिएको वचन पूरा नभएपछि भोकभोकै परेका अछामका राउटेहरु विश्व काष्ठ मेलाको अवसर पारेर पुरानो वचन पूरा गरिदिने अनुरोधसहित काठमाण्डौ आइपुगेका छन् । राष्टपतिले बोलेको कुरा नै पूरा नभएपछि खिन्न भएका उनीहरु र बालबच्चाको भोको पेटले अछामबाट काठमाण्डौसम्म आउनुपर्ने बाध्यता परेको हो । 
 

ज्ांगलमा बस्दै आएका राउटेहरु ७ गते अछामबाट काठमाडौं आइपुगेका थिए । सोमबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा शुरु भएको विश्व काष्ठ मेला उद्घाटनको प्रज्ञा भवनभित्रको रौनकमा सबै मस्त भइरहँदा राउटेहरु भने भवन बाहिर काठबाट बनेका खाली कचौरा बोकेर एउटा स्टल कुरिरहेका थिए । 
 

तामझामका साथ सुरु भएको विश्व काष्ठ दिवस २०१६ उद्घाटन गरिसकेर बाहिर काष्ठकलाको स्टल अवलोकनका लागि निस्किएकी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष एउटा कागज थमाउन राउटे मुखियाको छोरा हतारिँदै गए र आफूले अछामबाट बनाएर ल्याएको काठको कचौरासँगै केही कुरा लेखिएको पत्र समेत राष्ट्रपति  भण्डारीको हातमा थमाउन सफल भए । राउटेले दिएको सो सामाग्री भण्डारीले पनि सहजै स्विकारिन् ।
 

राष्ट्रपति र राउटेबीचको यो भलाकुसारी र मिलन देखेर  अरु भने तीन छक्क परे । मानौ उनीहरुबीच वर्षौअघिदेखि चिनजान छ । कुरा सत्य थियो । फागुन २ गते प्रधानमन्त्री केपी ओलीले आफ्नो निवासमा राउटेका मुखियालाई तीनलाख रुपैयाँ दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनीहरुले सबैलाई एक÷एक मुरी चामल दिन आग्रह गरेका थिए । राष्ट्रपतिले ‘तपाईहरुले रासनपानी पाउनु हुन्छ’ भनेपछि खुशी हुँदै उनीहरु जिल्ला फर्किएका थिए । तर एकमहिनासम्म पनि राष्टपतिले बोले अनुसार रासनपानी नआउँदा तनावमा परेका उनीहरु सहयोगी संस्थाको सहयोगमा काठमाण्डौ आएका हुन्, राष्टपतिलाई पुरानो वाचा सम्झाउन र भोकाएका आफ्ना बालबच्चाको पेट भर्न ।
 

जानकारहरुका अनुसार राउटे उत्थान प्रतिष्ठान नेपालले विश्व काष्ठ मेलामा राष्टपति सहभागी हुने सूचना दिएपछि राउटेहरु काठमाण्डौ आएका थिए । पूर्व योजनाअनुसार नै राउटे समूहले राष्टपति भण्डारीलाई भेटेर रासनपानी दिने पुरानो वाचा पूरा गर्ने अनुरोधसहितको पत्र बुझाइएको हो । 
 

पूर्व प्रतिबद्धता पूरा नभएपछि राउटेहरु फेरि काठमाण्डौ आएको र आफूहरुसँग मागपत्र नै बुझाएको देखेर राष्ट्रपति भण्डारीले उनीहरुको माग पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी बताइएको छ । स्रोतका अनुसार यसपटक चाहि राउटे मुखियाका ५ छोराहरुले रासनपानीसहित अछाम फर्कन पाउनेछन् । 

-सन्तोषी अधिकारी