काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीका लागि मंगलबार काठमाण्डौको हल्चोकस्थित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।  

कार्यक्रममा बैंकका ब्रान्च अपरेसन विभागकी प्रमुख दुर्गा कँडेल(छत्कुली)ले बैंकमा खाता खोल्ने, केवाईसी, डिजिटल बैंकिङ तथा पेसाकर्मी सरल कर्जासम्बन्धी प्रशिक्षण दिएकी थिइन्। 

त्यसैगरी बैंकको सहायक कम्पनी आरबीबी मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले डिम्याट खाता, आस्बा सेवा तथा पुँजीबजारसम्बन्धी प्रशिक्षण दिएका थिए। 

कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक हेमबहादुर ज्ञवालीले स्वागत मन्तब्य तथा प्रहरी नायब उपरीक्षक धु्रव केसीले धन्यवाद ज्ञापन गरेका थिए। 

कार्यक्रम ब्रान्च अपरेसन विभागका उपप्रबन्धक जितेन्द्रसिंह थापाले सञ्चालन गरेका थिए। 

गत वैशाख १४ गते बैंक र सशस्त्र प्रहरी बल नेपालबीच सशस्त्र प्रहरी बलका कर्मचारीको हित तथा सुविधाका लागि तलबी बचत खाता सञ्चालन तथा कर्जा कारोबारलगायतका बैंकिङ सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको थियो। 

कार्यक्रममा बैंकका बाग्मती प्रादेशिक कार्यालयका प्रदेशिक प्रबन्धक धु्रव अर्याल, स्वयम्भु शाखाका शाखा प्रबन्धक ज्ञानु सेढाईलगायत कर्मचारीको उपस्थिति थियो । देशभर बैंककोे हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४३ स्थानमा एक्सटेन्सन काउन्टर, ९८ शाखारहित बैंकिङ सेवासहित आधुनिक डिजिटल बैंकिङका माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ।