काठमाण्डौ । लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका कार्यालय परिसरमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ५२ औँ एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन केन्द्रको एक समारोहका बीच शुभारम्भ गरिएको छ। 

एक्सटेन्सन काउन्टरको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गरेका छन्। 

कार्यक्रममा प्रमुख पाण्डेले बुटवल बजार व्यावसायिक क्षेत्र भएकाले काउन्टरबाट सरकारी कारोबारलगायत व्यावसायिक कारोबारसमेतको माग रहेको बताए। 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वडा कार्यलयहरुबाट समेत राजश्व संकलन गर्ने योजना रहेको बताए। 

शाखा कार्यालय बुटवलमार्फत रहने उक्त एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिइने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतको रकम जम्मा गर्न सकिनेछ। 

बैंकका लुम्बिनी प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक दिनेश गौतमको सभापतित्वमा भएको कार्यक्रममा उपकार्यकारी अधिकृत सरस्वती अधिकारीले स्वागत मन्तव्य तथा उपप्रबन्धक जितेन्द्रसिंह थापाले कार्यक्रम सञ्चालन गरेका थिए। 

उक्त अवसरमा विभिन्न वडाका वडाध्यक्ष तथा सदस्यहरु, प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी, उद्योग वाणिज्य महासंघ बुटवलका अध्यक्ष उज्वल कसजु, शाखा कार्यालय बुटवलका शाखा प्रबन्धक सुरेन्द्र यादव, कर्मचारीहरु लगायतको उपस्थिति थियो। 

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटीएम र १०२ वटा शाखारहित बैंकिङ रहेका छन्।