काठमाण्डौ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म ४ अर्ब ४५ करोड नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ५ अर्ब ४ करोड थियो । यसरी कोभिड १९ को प्रभाव पूर्ण सरकारी स्वामित्वको बैंकमा समेत देखिएको छ । 

तर, नाफामा नम्बर वानको विरासत बैंकले यो पटक पनि जोगाएको छ । सबै निजी क्षेत्रका बैंकहरुलाई नाफामा टप्दै कोभिड संकटका बीच पनि राष्ट्रिय वाणिज्य बैंक नम्बर वान बनिरहन सफल भएको छ ।

नियामकीय व्यवस्था र ठूलो रकम प्रोभिजनमा राख्नुपर्दा यो बैंकको वितरणयोग्य मुनाफा भने खुम्चिएर १ अर्ब ३ करोडमा सीमित बन्न पुगेको छ । 

समीक्षा अवधिमा बैंकको संचालन मुनाफा सामान्य घटेर ६ अर्ब ३ करोडमा सीमित बन्न पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको संचालन मुनाफा ६ अर्ब ४७ करोड थियो । 

कोभिड १९ का कारण बैंकको खूद ब्याज आम्दानी पनि सामान्य घटेको छ । अघिल्लो वर्ष ९ अर्ब ९४ करोड रहेको यस्तो आम्दानी सामान्य घटी ९ अर्ब ३१ करोडमा सीमित बन्न पुगेको हो । बंैकले समीक्षा अवधिमा १७ अर्ब रुपैयाँभन्दा बढी ब्याज आम्दानी गरेको देखिन्छ । अघिल्लो वर्षको ब्याज आम्दानी १४ अर्ब ९२ करोडमा सीमित थियो । ब्याज खर्च अघिल्लो वर्ष ४ अर्ब ९७ करोड रहेकोमा यो वर्ष ७ अर्ब ७१ करोड पुगेको देखिन्छ । 

समीक्षा अवधिमा बैंकले २ खर्ब ३० अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ५० अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले १ खर्ब ८९ अर्ब निक्षेप संकलन गरी १ खर्ब ४२ अर्ब बढी कर्जा परिचालन गरेको थियो ।  

यसरी हेर्दा बैंकले निक्षेप संकलनमा गत वर्षको भन्दा करिब २२ प्रतिशतले प्रगति गरेको देखिन्छ । यस्तै, कर्जा परिचालनतर्फ ६.१८ प्रतिशतको प्रगति भएको छ । 

बैंकले अघिल्लो वर्ष ११ अर्ब १८ करोडमा सीमित रिजर्बको आकारलाई बढाएर यो वर्ष १३ अर्ब ८ करोडको उचाई समेत चुमाएको छ । 

कोभिड १९ का बीच पनि बैंकले खराब कर्जाको अनुपातलाई भने घटाएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ४.७९ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात(एनपिएल) घटेर ४.०८ प्रतिशत कायम गराउन बैंक सफल देखिएको छ । बैंक पछिल्लो समय डूबेका कर्जा उठाई खराब कर्जालाई २ प्रतिशतको सीमामा ल्याउने घोषित प्रयासमा छ। 

अघिल्लो वर्ष २.७१ प्रतिशतमा सीमित कस्ट अफ फण्ड बढेर ३.६९ प्रतिशत पुगेको छ भने बैंकको बेस रेट ५.८० प्रतिशत रहेको छ । 

अघिल्लो वर्ष ७२.८५ प्रतिशतमा रहेको सीडी रेसियो यो वर्ष भने कोभिडका कारण ऋण लगानी प्रभावित हुँदा खुम्चिएर ६२.४८ प्रतिशतमा सीमित बन्न पुगेको छ ।