काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद बीमाशुल्कबापत ७ अर्ब ६ करोड रुपैयाँ आर्जन गरेको छ।

चौथो त्रैमास वित्तीय विवरणअनुसार बीमाशुल्कबापतको आर्जन संस्थानले ११.१८ प्रतिशतले बढाएको हो। अघिल्लो वर्ष यस्तो आर्जन ६ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा संस्थानको खुद दाबीभुक्तानी भने ३.७२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष २ अर्ब ७१ करोड रुपैयाँ दाबीभुक्तानी गरेको कम्पनीले यो अवधिमा २ अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ। 

समीक्षा अवधिमा संस्थानको व्यवस्थापन खर्च ३.१० प्रतिशतले बढेको छ। अघिल्लो वर्ष २० करोड २ लाख रुपैयाँ रहेको व्यवस्थापन खर्च बढेर समीक्षा अवधिमा २० करोड ६४ लाख रुपैयाँ पुगेको छ। 

संस्थानको जीवन बीमा कोषको आकार भने २८.५४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष २० अर्ब ६४ करोड रुपैयाँमा सीमित जीवन बीमा कोषको आकार संस्थानले बढाएर समीक्षा अवधिमा २६ अर्ब ५४ करोड रुपैयाँको उचाइमा पुर्याएको छ। जगेडा तथा कोषको आकार २२ करोड ६७ लाखबाट बढाएर २८ करोड ५८ लाख रुपैयाँको उचाइ चुमाएको छ। 

समीक्षा अवधिका संस्थानले खुद नाफा ३.५८ प्रतिशतले बढाएको छ। समीक्षा अवधिमा संस्थानले ५ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष खुद नाफा ५ करोड ७० लाख रुपैयाँमा सीमित थियो। 

संस्थानले लगानी, कर्जा तथा अन्यबाट हुने आय ७ करोड ५३ लाख पुर्याएको छ। यस्तो आय अघिल्लो वर्ष ७ करोड ७७ लाखमा सीमित थियो। 

संस्थानले बीमालेखको धितोमा कर्जाबाट हुने आयबापत १२ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्ष १२ करोड ४ लाख रुपैयाँ रहेको थियो।