काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आज (जेठ २५ गते) बाट आवेदन खुला गरिएको छ। 

बैंकले रु. १ हजार अंकित दरका कुल २५ लाख इकाइ भएको ‘८.५% आरबीबीएल डिबेन्चर, २०८३’ निष्कासन गरेको हो। कुल इकाइमध्ये १५ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १० लाख इकाइको सार्वजनिक निष्कासन गरिएको छ। 

लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा २ लाख ५० हजार इकाइसम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट खरिद आवेदन दिन सक्नेछन्। त्यस्तै सीडीएसी एन्ड क्लियरिङले सञ्चालन गरेको मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ।

ऋणपत्रको निष्कासन बन्द छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गते हुनेछ। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

६ वर्षे यो ऋणपत्रमा लगानीकर्ताले ८.५ प्रतिशत वार्षिक ब्याजदर तोकिएको छ। लगानीकर्ताले अर्धवार्षिक रुपमा ब्याज पाउनेछन्। यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत वैशाख १६ गते निष्कासन गर्ने अनुमति दिएको थियो। 

बैंकको यो ऋणपत्रलाई केयर रेटिङ नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा पर्याप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाका रुपमा रहेको संकेत गर्ने केयर–एनपी ए प्लस (आईएस) रेटिङ प्रदान गरेको छ।