काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन्। 

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले अध्यक्ष पदबाट सञ्चालक समितिसमक्ष राजीनामा दिएका थिए। 

अध्यक्ष पुडासैनी नेपाल सरकार अर्थ मन्त्रालयका राजश्व सचिव हुन्। सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय निलम तिम्सिना ढुंगाना तथा बमबहादुर मिश्र, अन्य उच्च पदाधिकारी र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीलगायत अन्य कर्मचारीको उपस्थिति रहेको थियो।