काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्राहकको बदलिँदो चाहनालाई सम्बोधन गर्न एवं नगद कारोबारमा रहेको जोखिमलाई न्यूनीकरण गर्न मंगलबार क्रेडिट कार्ड सेवा सुरु गरेको छ। 

बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एसियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका हुन्। समारोहमा अध्यक्ष पुडासैनीले ग्राहकको चाहनाअनुसार नयाँ–नयाँ बैंकिङ प्रोडक्टको अनुसन्धान गर्नुपर्ने बताउँदै यस्तो सेवाले ग्राहकको आर्थिक कारोबारमा सहजता हुने बैंकले विश्वास लिएको बताए। 

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले क्रेडिट कार्डको शुभारम्भपछि पूर्ण डिजिटल बैंकिङतर्फ बैंक अगाडि बढिरहेकोे भन्दै नेपाल, भारत र भुटानमा चल्ने यो सेवा  बैंकका सबै शाखा कार्यालयबाट माग गर्न सकिने बताए। एसियन लाइफ इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठले रा.वा. बैंकको पहिलो क्रेडिट कार्ड ग्राहक हुन पाउँदा खुसी लागेको बताए। उनले बैंकको व्यवसाय विस्तारका लागि शुभकामना पनि व्यक्त गरे। 

समारोहमा उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले प्रतिस्पर्धी बजारमा सस्तो ब्याजदरमा दिइने क्रेडिट कार्ड ग्राहकको आयश्रोत एवं भुक्तानी क्षमताको आधारमा ग्राहकलाई २० हजारदेखि ५ लाख रुपैयाँसम्मको क्रेडिट लिमिट दिन सकिने बताए। 

डिजिटल बैंकिङ विभागका प्रमुख ऋषिराम ढकालले क्रेडिट कार्डबाट ग्राहकले दैनिक रकम भुक्तानी, अनलाइन सपिङ्ग, तोकिएको सीमाभित्र रहेर नगदसमेत झिक्न मिल्ने सुविधा रहेको उल्लेख गरे। 

बैंकको हाल ७७ जिल्लामा २४७ वटा शाखा कार्यालय, २०९ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ सेवा रहेका छन्। 

उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत सरस्वती अधिकारी, विभागीय प्रमुखहरु, बैंकमा क्रियाशिल ट्रेड युनियनका अध्यक्षहरुलगायत कर्मचारीको उपस्थिति थियो।