काठमाण्डौ। नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्विचको पहिलो रणको थालनीका लागि एनसीएचएल र राष्ट्रिय वाणिज्य बैंकबीच आज औपचारिक रुपमा सम्झौता भएको छ। 

यसका साथै बैंकले आफ्नो संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेटपे प्रणालीको सुरुआत पनि गर्ने भएको छ। 

उक्त सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। 

यस सम्झौताअनुरुप राष्ट्रिय वाणिज्य बैंकले नेसनल पेमेन्ट स्विचको पहिलो चरणमा रिटेल पेमेन्ट स्विचअन्तर्गत नेपाल–क्यूआर स्ट्यान्डर्डबमोजिम नेपालपे क्यूआर तथा इन्टरनेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा ई–म्यान्डेटका उपकरणहरु, विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तरआबद्धता तथा पिएसओ सेटलमेन्टलगायतका भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछन्।  

उक्त स्विच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारका रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपीआईका मार्फत बैंकले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन्। 

यसका साथै बैंकले आफ्ना व्यावसायिक ग्राहकलाई  डिजिटल प्ल्याटफर्मको रुपमा कर्पोरेटपे प्रणाली उपलब्ध गराई उक्त प्रणालीमार्फत बैंकमा नगई आफैँले फन्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन्। उक्त प्रणालीमार्फत कनेक्टआईपीएस अथवा एनसीएचएल–आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछन्। 

कर्पोरेटपेमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ र स्वीकृतिलगायतका आवश्यक प्रक्रिया पूरा गरी बैंकबाट सो सेवा प्राप्त गर्न सकिनेछ। यसपश्चात भने प्रयोगकर्ता आफैँले तोकिएको सीमा कारोबारभित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन्। 

राष्ट्रिय वाणिज्य बैंकले सदैव आफ्ना ग्राहकका निम्ति विभिन्न डिजिटल भुक्तानी प्लाटफर्महरु प्रदान गर्दै आएको छ र नेसनल पेमेन्ट स्विचको पहिलो चरणको थालनीले तथा  कर्पोरेटपे प्रणालीको सुरुआतले बैंकका ग्राहकलाई थप सेवा सुविधा प्रदान गर्नेे विश्वास गरिएको छ।  

हाल नेसनल पेमेन्ट स्विचमा ३४ वटा बैंक तथा वित्तीय संस्था र १ भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ३५ वटा संस्था आबद्ध रहेका छन् भने कर्पोरेटपे प्रणाली हाल ३५ वटा बैंक तथा वित्तीय संस्थामार्फत उपलब्ध रहेको छ।