काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागबीच एमए र एमफिल गरिरहेका विद्यार्थीहरुलाई अनुसन्धनात्मक शोधग्रन्थ लेखन कार्यका लागि सहयोग गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ। 

बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा शिवराज अधिकारीले हस्ताक्षर गरेका छन्। 

समारोहमा बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले अनुसन्धानबाट आउने प्रतिवेदनले बैंक र देशकै आर्थिक क्षेत्रलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास लिएको बताए। 

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले गर्ने लगानीका क्षेत्रहरुमा हुने जोखिम तथा सम्भावनाहरुका बारेमा यथार्थपरक ढंगबाट अनुसन्धान भई आगामी दिनमा बैंकलाई रणनीतिक ढंगबाट अगाडि बढ्न दिशानिर्देश गर्ने बताए। उनले त्रिवि अर्थशास्त्र केन्द्रीय विभागसँगको सहकार्यमा यर्थाथपरक रुपमा लेख्न प्रेरित गर्न आर्थिक हिसाबले आवश्यक तथा जेहेन्दार विद्यार्थीलाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो सुविधा प्रदान गर्ने बताए। 

त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा शिवराज अधिकारीले विभागले विभिन्न वित्तीय क्षेत्रसँग यस्तो सम्झौता गरिरेहकाले प्राप्त हुने अनुसन्धनात्मक प्रतिवेदनले देशको अर्थतन्त्रमा योगदान पुग्ने बताए। उनले त्रिवि अर्थशास्त्र केन्द्रीय विभागले माग गरी प्राप्त प्रस्तावमध्ये उत्कृष्ठ पाँच प्रस्तावलाई छनौट गरी बैंकसँगको सहकार्यमा अनुसन्धान क्षेत्र तोकी शोधग्रन्थ तयार गर्ने विद्यार्थीहरुलाई सहयोग रकम उपलब्ध गराइने बताए। 

बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले पाँच जना विद्यार्थीलाई ४० हजार रुपैयाँदेखि बढीमा १ लाख रुपैयाँसम्म रकम उपलब्ध गराउने बताए। 

समारोहमा त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका प्रा. ताराप्रसाद भुषाल, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीे, उपकार्यकारी अधिकृत विमल डंगोल, विभागीय प्रमुख सरोज वस्नेत, कम्पनी सचिव भोलानाथ पौडेललगायत कर्मचारीको उपस्थिति थियो।

बैंकले देशभर २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४१ स्थानमा एक्सटेन्सन काउन्टर र ९८ शाखारहित बैंकिङ सेवासहित आधुनिक डिजिटल बैंकिङका माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ।