काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९ को मस्यौदा तयार पारेको छ। 

राष्ट्र बैंकले बिहीबार एक सूूचना उक्त विनियमावलीको मस्यौदा तयार भएको जानकारी गराएको हो। नेपाल राष्ट्र बैेंक ऐन, २०५८ को दफा ५ को उपदफा (१) को खण्ड (ज) मा नेपाल राष्ट्र बैंकको काम, कर्तव्य र अधिकारअन्तर्गत वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैंक तथा अन्तिम ऋणदाताका रुपमा कार्य गर्ने भन्ने उल्लेख छ। 

सोही ऐनको दफा ४९ को उपदफा (२) बमोजिम नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाताको रुपमा कार्य गर्नुपर्ने अवस्थामा आफ्नो भूमिका निर्वाह गर्न वाञ्छनीय भएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (२) को खण्ड (ण) ले दिएको अधिकार प्रयोग गरी यो विनियमावली तर्जुमा गरी लागू गरिने केन्द्रीय बैंकले जनाएको छ।

यससँगै राष्ट्र बैंकले उक्त मस्यौदामा सरोकारवाला व्यक्ति तथा निकायसँग उक्त सुझाव मागसमेत गरेको छ। राष्ट्र बैंकले उक्त मस्यौदा परिमार्जन गर्न आवश्यक भएमा १५ दिनभित्र पत्रमार्फत वा nrbbfirdppd@nrb.org.np मा ई–मेल पठाउन भनेको हो।

इजाजतपत्रप्राप्त संस्थाले अन्तरबैंक बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोवार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसकी तत्कालको दायित्व पूरा गर्न असमर्थ भई प्रणालीगत जोखिम सिर्जना हुने र बैंकिङ प्रणालीप्रति सर्वसाधारणको विश्वसनियतामा कमी आउन सक्ने जोखिम देखिएमा अन्तिम ऋणदाताका रुपमा राष्ट्र बैंकले आवश्यक ऋण प्रदान गरी वित्तीय स्थायित्व कायम गर्नु यो विनियमावलीको उद्देश्य हुनेछ ।