काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको लाभांश संशोधन गरी घटाएको छ।

नेपाल राष्ट्र बैंकको निर्देशनपछि साधना लघुवित्तले यसअघि प्रस्ताव गरेको लाभांश संशोधन गर्दै घटाएको हो। संस्थाको हिजो मंगलबार बसेको सञ्चालक समितिले राष्ट्र बैंकको निर्देशनबमोजिम अब चुक्तापुँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँको १८ प्रतिशतले हुन आउने ३ करोड ९२ लाख ४०० रुपैयाँबराबरको बोनस सेयर र ०.९४ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) का रुपमा २० लाख ६३ हजार १७८.९५ रुपैयाँ सेयरधनीहरुलाई वितरण गर्नेछ। 

यसअघि साधना लघुवित्तले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) कुल २० प्रतिशत लाभांश प्रस्ताव गरी नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाएको थियो। तर राष्ट्र बैंकले गत पुस ५ गते पत्रमार्फत वित्तीय विवरण सुधार गरी पुनः पेस गर्न निर्देशन दिएको थियो।

हिजोको बैठकले साधना लघुवित्तको चौथो वार्षिक साधारणसभा यही पुस २९ गते बुधबार गोरखाको होटेल गोरखामा डाकेको छ। सोही सभाले प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। 

बैठकले यही पुस १६ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ। यसको मतलब पुस १५ गतेसम्म कायम सेयरधनीहरुमात्र संस्थाद्वारा प्रस्तावित लाभांश पाउने र सभामा भाग लिन योग्य हुनेछन्।