काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १० करोड ४८ लाख रुपैयाँ लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकले बैंकको विभिन्न कोषमा रहेको उक्त रकम क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वर्षका लागि मुद्दति निक्षेपका रुपमा लगानी गर्न लागेको हो। यो लगानी २०७७ फागुन २ गतेदेखि २०७८ फागुन १ गतेसम्म ३६५ दिनका लागि हुने बैंकले जनाएको छ। 

राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकहरुमा ८ करोड ३९ लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १ करोड ५७ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा ५२ लाख रुपैयाँ लगानी गर्नेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाई राष्ट्र बैंकले तोकेको शिलबन्दी दरभाउपत्रसम्बन्धी फाराम भरी यही माघ २० गते मंगलबार दिउँसो २ बजेभित्र वित्त व्यवस्थापन विभागमा पेस गर्नुपर्नेछ।