काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांशमा संशोधन गरेको छ। संस्थाले प्रस्तावित लाभांश केही घटाएको छ। 

गत कात्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफा एवं वितरणयोग्य पुँजीगत जगेडा कोषबाट हाल कायम चुक्तापुँजी १७ करोड ६१ लाख ६९ हजार ७०६.३८ रुपैयाँको ३२ प्रतिशतले हुन आउने ५ करोड ६३ लाख ७४ हजार ३०६.०४ रुपैयाँबराबरको बोनस सेयर प्रस्ताव गरेको थियो। सोहीअनुसार संस्थाले स्वीकृतिका लागि राष्ट्र बैंकमा पेस गरेको थियो।

राष्ट्र बैंकले भने ग्राहक संरक्षण कोषका लागि पनि रकम छुट्याउन निर्देशन दिएपछि संस्थाले लाभांशमा संशोधन गरेको हो। संस्थाको शनिबार बसेको सञ्चालक समितिको बैठकले लाभांशमा संशोधन गर्दै गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १७ करोड ६१ लाख ६९ हजार ७०६.३८ रुपैयाँको ३० प्रतिशतले हुन आउने ५ करोड २८ लाख ५० हजार ९११.९१ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।