काठमाण्डौ । बजारको नयाँ प्लेयरको रुपमा उदाएको एनआइसी एशिया बैंक एकपछि अर्को गर्दै खेलबाट बाहिरिन थालेको छ । 

अघिल्लो वर्ष र यसअघिका त्रैमाससम्म पनि खूद नाफा आर्जन गर्ने बैंकहरुमा टप थ्रीमा आइरहेको यो बैंक अत्यधिक खर्च धान्ने सकसमा पर्दा रिंगबाट क्रमशः बाहिरिन थालेको तथ्यांकहरुले देखाएका छन् । 

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको खूद नाफा आर्जन र लाभांश क्षमताको कोणबाट हेर्दा समेत एनआइसी एशिया कमजोर देखिएको छ । बरु, यो बैंकको तुलनामा अरु बैंकले राम्रो प्रगति गरेका छन् । 

तेश्रो त्रैमाससम्म सबैभन्दा बढी ३ अर्ब ६८ करोड खूद नाफा आर्जन गरी नवील बैंक पहिलो स्थानमा छ । 

यसअघिको वर्ष खूद नाफा आर्जनमा पहिलो स्थानमा रहँदै आएको पूर्ण सरकारी स्वामित्वको राष्टिय वाणिज्य बैंक भने यो पटक ३ अर्ब २७ करोड मुनाफा आर्जनसहित तेश्रो स्थानमा धकेलिएको छ । 

जनता बैंक र केही विकास बैंकलाई मर्ज गरी देशकै ठूलो साइजको बनेको ग्लोबल आइएमई बैंक ३ अर्ब ५७ करोड नाफा आर्जन गर्दै नवीललाई टक्कर दिने अवस्थामा पुगेको छ । 

समीक्षा अवधिमा एनआइसी एशिया भने ३ अर्ब खूद नाफा आर्जन गर्दै अरुभन्दा निकै पछाडि धकेलिएको छ ।