काठमाण्डौ । चालु आर्थिक वर्ष सकिँदासम्म प्रतिसेयर आम्दानी जम्मा रु. ४ हुने प्रक्षेपण कम्पनीले नै गरेको सेयरमा लगातार कर्नरिङको खेल भइरहँदा समेत सरोकारवाला निकाय मौन देखिएका छन् । 

चन्द्रागिरी हिल्स लिमीटेडको सेयरमा खुलेआम कर्नरिङ भइरहेको छ, तर यो विषयमा छानबिन गर्ने तदारुकता कसैले पनि देखाएको छैन । बरु, यो कम्पनीको दोश्रो बजार मूल्य चाँडै २००० हजार रुपैयाँ प्रतिकित्ता पुर्याउने योजनाअन्तर्गत लगानीकर्ताहरुलाई परिचालन गरिएको छ । निश्चित लगानीकर्ताको समूहले सुनियोजित ढंगले बजारमा यो कम्पनीको सेयरमा उच्च माग सिर्जना गरी मूल्य बढाउने खेल खेलिरहेका छन् । यो विषयमा न नेपाल स्टक एक्सचेञ्ज, न त धितोपत्र बोर्डले नै चासो दिएका छन् । 

चन्द्रागिरी हिल्स लिमीटेडको मूल्य दैनिक रुपमा १० प्रतिशतले दरले बढाइँदैछ । यो क्रमले आज(सोमबार) पनि निरन्तरता पायो । आज पनि पोजिटिभ सर्किट लागी कम्पनीको दोश्रो बजार मूल्य १ हजार ५६३ को उचाईमा पुगिसकेको छ । यो समाचार तयार पार्दासम्म चन्द्रागिरीको ४ लाख २७ हजार बढी कित्ता सेयर खरीदका लागि माग भएको देखिन्छ । बिक्रीतर्फ शून्य कित्ता रहेकोले पनि बजार मूल्य अझै बढ्ने संभावना देखिन्छ । 

बजार मूल्यमा दैनिकजसो उछाल आइरहेको यो कम्पनीको दोश्रो बजार मूल्यलाई कम्पनीको अहिलेसम्मको वित्तीय विवरण तथा सोही कम्पनीले प्रक्षेपण गरेको वित्तीय विवरणले समेत पुष्टि गर्दैन । न आकर्षक वित्तीय विवरण, न त कुनै धमाका हुने कुनै संभावित स्किम नै । बिनाकारण निश्चित समूहले चन्द्रागिरी हिल्सको सेयरलाई मज्जैले खेलाउने काम गरिरहेको देखिन्छ । 

पुरानै रोग
नेपालको दोश्रो बजारमा सेयर कर्नरिङ गर्ने र मूल्य बढाउने पुरानै रोग हो । यस्तै खेलका कारण कमजोर वित्तीय सूचकका बाबजुद विशाल बजार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन लगायतका कम्पनीहरुको सेयरमूल्य अचाक्ली बढाइएको छ । यी कम्पनीहरुको सेयरको निकै कम आपूर्तिको फाइदा उठाएर गिरोहहरुले खुलेआम खेल गरिरहँदा समेत सम्बद्ध निकायले चासो दिएनन् र चन्द्रागिरीमा समेत यही खेल दोहोरियो । 

चन्द्रागिरीको वित्तीय विवरण सरसर्ती हेर्ने हो भने अहिले दैनिकजसो पोजिटिभ सर्किट लाग्नु पछाडि बलियो आधार देखिन्न । जस्तो कम्पनीको २०७६ ७७ मा प्रतिसेयर आम्दानी रु. १२.६७ ले ऋणात्मक थियो । चालु आर्थिक वर्षमा समेत कम्पनीको इपीएस रु. ४ मात्र हुने प्रक्षेपण गरिएको छ । प्रतिसेयर नेटवर्थ अघिल्लो वर्ष ८४.८८ रुपैयाँ रहेकोमा यो वर्ष ९०.६९ रुपैयाँ मात्र हुने प्रक्षेपण गरिएको छ । 

नेटवर्थमा औसत प्रतिफल अघिल्लो आर्थिक वर्ष  १४.९३ प्रतिशतले ऋणात्मक थियो भने चालु आर्थिक वर्षमा ४.४१ प्रतिशत मात्र हुने प्रक्षेपण गरिएको छ । १ अर्ब ५३ करोड सेयर पूँजी रहेको यो कम्पनीको चालु आर्थिक वर्षको अन्तसम्म ६ करोड १३ लाख रुपैयाँ हाराहारीमा खूद नाफा हुने प्रक्षेपण स्वयम् कम्पनीको देखिन्छ । नाफा रकम सबै लाभांशको रुपमा बाँड्दा पनि कम्पनीले यो वर्ष लगानीकर्तालाई ४ प्रतिशतको मात्र रिटर्न दिनसक्छ । यति न्यून रिटर्न दिने कम्पनीको मूल्य दैनिक रुपले पोजिटिभ सर्किट लाग्नुले समेत दोश्रो बजारमा कुन हदसम्मको खेल हुन्छ भन्ने कुरा प्रष्टिन्छ । 

होटल तथा पर्यटन समूहअन्तर्गतको यो कम्पनीको यो प्रक्षेपित आम्दानी तथा नाफा कोभिडको संक्रमण पुनः बढेसँगै प्रभावित हुनसक्छ । तर, यस्ता विषयमा लगानीकर्ताले ध्यानै नै दिएका छैनन् । बरु आँखा चिम्लिएर कमजोर वित्तीय विवरण र सूचक भएका र कोरोना नियन्त्रणका लागि लकडाउनसम्मको असहज परिस्थिति दोहोरिएको खण्डमा निकै ठूलो प्रभाव पर्ने यही कम्पनीको सेयरमा लगानी खन्याइरहेका छन् । 

यो कम्पनीको विगत ३ वर्षको नेटवर्थमा भएको प्रतिफल शून्य प्रतिशत छ । यो कम्पनीको जगेडा कोष चालु आर्थिक वर्षको अन्तसम्ममा १४ करोड २७ लाखले ऋणात्मक हुने स्वयम् कम्पनीको प्रक्षेपण देखिन्छ । तर, यति कमजोर कम्पनीमा लगानीकर्ता भने छोटो समयमै मोटो रकम कमाउने सपना देख्दै अपहत्ते गरिरहेका छन् । 

यही समूहमा सूचीकृत अन्य कम्पनीको सेयरमूल्य र उसको वित्तीय विवरणको तुलना गरेर हेर्ने हो भने ती कम्पनी लगानीको हिसाबले निकै कम जोखिमपूर्ण देखिन्छन् ।