काठमाण्डौ । लाभांश स्वीकृतको मुख्य अजेन्डासहित रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले सभा यही मंसिर २६ गते शुक्रबार काठमाण्डौको थापाथलीस्थित कम्पनीको कर्पोरेट कार्यालयमा आयोजना गर्ने निर्णय गरेको हो। कोरोना महामारीका कारण बढेको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर सभा भिडियो कन्फरेन्समार्फत हुने पनि कम्पनीले जनाएको छ।

सभाले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल ५.२६ प्रतिशत लाभांश पारित गर्नेछ। कम्पनीले चुक्तापुँजीबाट ५ प्रतिशतले हुन आउने बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ०.२३ प्रतिशतले हुन आउने नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव गरेको छ।

सभाले कम्पनीको अधिकृत पुँजी १ अर्ब १० करोड रुपैयाँलाई वृद्धि गरी १ अर्ब १५ करोड रुपैयाँ कायम गर्ने अनुमोदन गर्नेछ।

साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर १५ गते सोमबार एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १४ गतेसम्म कायम सेयरधनीहरुमात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन्।