काठमाण्डौ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले सुरु गरेको जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत आज (असार २३ गते)बाट नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम) काठमाण्डौमा सातदिने रिभर गाइडको लाइसेन्सिङ तालिम सुरु भएको छ। 

नेपाल पर्यटन बोर्डको एसटीएलआरपी परियोजनासँगको साझेदारीमा नेपाल एसोसियसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) को आयोजनामा तथा नाथमसँगको सहकार्यमा ४० जनालाई रिभर गाइड तालिम प्रदान गर्न लागिएको हो। तालिममा १२ महिला र २८ जना पुरुष गरी ४० जनाको सहभागिता छ। 

परियोजनाले गत वर्ष अल्पकालीन रोजगारीलाई जोड दिएकोमा अहिले केही नयाँ जनशक्ति थप गर्ने तथा भएको जनशक्तिलाई थप दक्ष बनाउने गरी यस प्रकारका तालिम सञ्चालन गरेको पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछानेले जानकारी दिए।