काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज सोमबार अन्तिम अवसर रहेको छ।

यो कम्पनीले निष्कासन गरेको ६२ लाख कित्ता आईपीआमो आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ। कम्पनीले २ अर्ब १० करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशतले हुन आउने प्रतिकित्ता रु. १०० अंकित दरका ६३ लाख कित्ता आईपीओ निष्कासन गरेको छ। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिएको छ। 

लगानीकर्ताले कम्तीमा १० कित्ता र अधिकतम ६३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरु वा ‘मेरो सेयर’ बाट खरिद आवेदन दिन सक्नेछन्।  

सानिमा क्यापिटलका अनुसार आईपीओ निष्कासनको तेस्रो आइतबार दिउँसो ४ बजेसम्म ५ लाख ३ हजार ८०२ आवेदनमार्फत २ करोड ४ लाख १४ हजार १९० कित्ता माग भएको छ। जुन मागभन्दा ३.६० गुणा बढी कित्ताका लागि खरिद आवेदन परेको हो। 

कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ। कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ संस्थापक सेयरधनीहरुबाट चुक्तापुँजी कायम गरिसकेको छ।  

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले आईपीओ ग्रेड ४ को रेटिङ प्रदान गरेको छ। यसको अर्थ कम्पनीको वित्तीय अवस्था औसतभन्दा तल आधारहरु जनाउने रहेको छ भन्ने हो। यस्ता कम्पनीको सेयरमा लगानी गर्दा धेरै जोखिम लिनुपर्ने हुन्छ।