काठमाण्डौ । लिलामीबाट समेत सेयर बिक्री हुन छाडेपछि कतिपय कम्पनीलाई पूँजी वृद्धिमा निकै ठूलो सकस परिरहेको छ । यस्तैमध्येको एक कम्पनीको हो रिलायन्स फाइनान्स । जसले ३ पटकको प्रयासमा समेत हकप्रदबाट बिक्री गर्न सकेन । 

यो कम्पनीले तेश्रो पटक साउन ८ गतेदेखि ३ लाख १ हजार २ सय ७४.५२ कित्ता बिक्री नभएको सेयरको लिलामीमा खुलाएको थियो । लिलामीमा सहभागी हुनका लागि साउन १६ गतेसम्म आवेदन दिने व्यवस्था मिलाइएको थियो । तर, तेश्रो पटकसम्ममा पनि यो कम्पनीको १ लाख १२ हजार ४ सय कित्ता मात्र बिक्री भएको छ । 

बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार कुल ९ आवेदकले अधिकतम प्रतिकित्ता १०१ रुपैयाँको दरले सेयर खरीदका लागि शिलबन्दी बोलपत्र पेश गरेका हुन् । बोलपत्र पेश गर्ने सबैले मागेजति कित्ता पाएका छन् । 

यो फाइनान्स कम्पनीले यसअघि ५ लाख ४२ हजार ३ सय १४ कित्ता सेयर लिलामीमा राखेको थियो । यसअघि २ पटक लिलामीमा ल्याए पनि कम्पनीको सेयर बिक्री हुन सकेको थिएन र तेश्रोपटकमा समेत बिक्री भएन ।

कम्पनीले हालै सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । हाल कम्पनीको चुक्तापूँजी ५१ करोड २५ लाख रुपैयाँ रहेको छ ।

४५ प्रतिशत हकप्रद तथा १२ प्रतिशत बोनसपछि बढेर ८३ करोड २४ लाखको उचाईमा पुग्नेछ । यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता १२१ रुपैयाँ रहेको छ।