काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता ११० रुपैयाँमा कारोबार भइरहेको रिलायन्स फाइनान्सको १ लाख ८८ हजार ८७४.५२ कित्ता संस्थापक समूहतर्फ नबिकेको हकप्रद सेयर आज(शुक्रबार)देखि पुनः लिलामीमा आएको छ । 

कम्पनीले नबिकेको सेयर बिकाउन लिलामीको सूचना निकालेको यो चौथो पटक हो । यो कम्पनीले पहिलो पटक भने नबिकेको ५ लाख ४२ हजार ३१४.५२ कित्ता सेयर लिलामीमा राखेको थियो । 

यसभन्दाअघि समेत लिलामीमा राखिएको भए पनि सबैका लागि शिलबन्दी बोलपत्र नपरेपछि बाँकी रहेका कित्ता पुनः लिलामीमा राखिएको हो । 

यसपटक खुलाइएको लिलामीमा सहभागी हुनेले चैत १ गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

यसअघिको लिलामीमा रिलायन्स फाइनान्सले ३ लाख १ हजार २७४.५२ कित्ता हकप्रद सेयर राखेको थियो । तर, १ लाख १२ हजार ४०० कित्ताका लागि मात्र बोलपत्र प्राप्त भएको थियो ।

इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि र न्यूनतम १०० रुपैयाँ मूल्य राखेर बोलपत्र पेश गर्न सक्ने छन् ।

लिलामीको व्यवस्थापनका लागि सनराइज क्यापिटल बिक्री प्रबन्धक तोकिएको छ।

यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । यो कम्पनीले आर्थिक वर्ष २०७३/७४, ७४/७५ कै वार्षिक साधारणसभा गरेको छैन । 

हाल यो कम्पनीको चुक्तापूँजी ५१ करोड २५ लाख रहेको छ भने ४५ प्रतिशत हकप्रद र १२ प्रतिशत बोनस सेयरको  पूँजीकरणपछि बढेर ८३ करोड २४ लाखको उचाईमा पुग्नेछ ।