काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभाले पुँजी वृद्धि र मर्जरमा जाने अजेन्डा पारित गरेको छ। 

आज सम्पन्न कम्पनीको विशेष साधारणले कम्पनीको अधिकृत पुँजी रु. ३ अरब रुपैयाँबाट वृद्धि गरी रु. ५ अर्ब पुर्याउने विशेष प्रस्ताव पारित गरेको हो।

पुँजी वृद्धिको आवश्यकतालाई दृष्टिगत गरी भविष्यमा अन्य कुनै जीवन बीमा कम्पनीसँग आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान र छनौट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोका आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, आवश्यकताअनुसार सम्पत्ति तथा दायित्वहरुको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता तथा लेखापरिक्षकहरु नियुक्त गर्नेलगायतका कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ। 

सभाले कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्रमा पूँजी पृद्धि एवंं अन्य व्यबस्थाहरु समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सोलाई समाविष्ट गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ। 

सभाका अध्यक्ष ताराचन्द केडियाले छलफलका प्रस्तावहरु प्रस्तुत गरेका थिए। कम्पनीका अन्य सञ्चालकहरुमा भरतकुमार तोदी, जगदीशकुमार अग्रवाल, अमितकुमार बेगानी, सरिता भट्ट अधिकारी, परिक्षित खेम्का तथा बद्री प्रकाश पोखरेल सभामा उपस्थित थिए।