काठमाण्डौ । नेप्सेको टीएमएस निर्माता कम्पनी वाइकोको चरम लापरबाहीले रोक्का रहेको रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर आज किनबेच पाइएको छ। 

सानिमा लाइफ इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेपछि गत असार २९ गतेबाट रिलायन्स लाइफ इन्स्योरेन्स सेयर कारोबार रोक्का रहेको छ। तर, रोक्का गरिएको सेयर आज कारोबार भएपछि नेप्सेले यस विषयमा अनुसन्धान गरेको छ। अनुसन्धानका क्रममा वाइकोको कमजोरीका कारण रिलायन्स लाइफको सेयर कारोबार भएको पत्ता लागेको नेप्सेका एक अधिकारीले बताए। ‘वाइकोको यो गम्भीर लापरबाही हो, नेप्सेले कारबाही गर्ने तयारी गरिरहेको छ’, ती अधिकारीले भने, ‘वाइकोले सिस्टममा गत असार २९ गतेदेखि साउन १२ (बिहीबार)सम्म रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर रोक्का गरेको छ, जसका कारण आज शुक्रबार कारोबार खुल्यो।’

वाइकोका एक प्राविधिकले आफूहरुबाट कमजोरी भएको स्वीकार गरेका छन्। ‘तर, त्यो प्राविधिक त्रुटि हो’, उनले भने, ‘हामीले जानी–जानी रोक्का राखिएको सेयर खुलाएका होइनन्, रोक्का मिति राख्दा गल्ती भयो।’

आज रिलायन्स लाइफ इन्स्योरेन्सको सेयरमा पोजिटिभ सर्किट लागेको छ। कम्पनीको सेयरमा १० प्रतिशतको बढोत्तरीका साथै पोजिटिभ सर्किट लागेको हो। योसँगै कम्पनीको सेयरभाउ ३३.५ रुपैयाँको बढोत्तरीका साथ ३६८.५ रुपैयाँ पुगेको छ। 

यस विषयमा नेप्सेले एक सूचना जारी गर्दै लगानीकर्ताहरुसँग माफी मागिसकेको छ।