काठमाण्डौ । रुरु जलविद्युत लिमिटेडको आईपीओ बाँडफाँड भोलि शुक्रबार बिहान हुने भएको छ।

धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको काठमाण्डौको नक्सालस्थित नागपोखरीमा रहेको कार्यालयमा रुरु जलविद्युतको आईपीओ बाँडफाँड हुने भएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ८ बजेबाट सुरु हुने क्यापिटलका अधिकारी कमल नेपालले जानकारी दिए।

कम्पनीले गत चैत २० गतेदेखि चैत २४ गतेसम्म अंकितमूल्यमा २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। कम्पनीले कुल ४ लाख ७ लाख ७०६ कित्ता सेयर निष्कासन गरेको थियो। जसमा २ प्रतिशतले हुन आउने ८ हजार १५४ कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका छन्। 

सीडीएससीका अनुसार चैत २४ गते बैंकिङ समयसम्म यो आईपीओमा कुल १६ लाख ६९ हजार १९ आवेदकबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता माग भएको छ। यो कुल मागभन्दा ६१.६८ गुणा बढी कित्ताका लागि आवेदन परेको हो। आईपीओमा २ अर्ब ८० करोड ६८ लाख १० हजार ८०० रुपैयाँबराबरको आवेदन परेको छ। 

रुरु जलविद्युतको आईपीओमा परेको आवेदनको हिसाबले प्रत्येक ४४ आवेदकमध्ये १ जना भाग्यमानीले १० कित्ताका दरले सेयर पाउने देखिएको छ।

यसअघि कम्पनीले गत माघ २१ गतेदेखि फागुन २१ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि आईपीओ निष्कासन गरेको थियो। आयोजना प्रभावितलाई यो कम्पनीले कुल ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ बिक्री गरेको थियो। 

आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ।