काठमाण्डौ । भर्खरै आईपीओ बिक्री गरी धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएको रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ।

आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको समीक्षा अवधिको नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १२.८१ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले यही अवधिमा ५ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि २.७३ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी ११ करोड ७० लाख रुपैयाँ रहेकोमा यो वर्ष बढेर १२ करोड २ लाख रुपैयाँ भएको छ। 

समीक्षा अवधिमा कम्पनीले रिजर्भको आकार १५०.६१ प्रतिशतले बढाएर १२ करोड २७ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष रिजर्भमा ४ करोड ८९ लाख रुपैयाँ रहेको थियो। 

चुक्तापुँजी ३६ करोड ६९ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १६.६१ रुपैयाँ प्रतिसेयर नेटवर्थ १३३.४६ रुपैयाँ रहेको छ।