काठमाण्डौ । रुसले भारतलाई सस्तोमा कच्चा तेल बिक्री गर्न अस्वीकार गरेको छ। 

रुस–युक्रेन युद्ध सुरु भएयता सस्तोमा कच्चा तेल खरिद गरिरहेको भारतलाई अब रुसले सस्तोमा तेल बिक्री नगर्ने जनाएको हो। भारतका दुईवटा सरकारी तेल कम्पनीहरु भारत पेट्रोलियम कर्पोरेसन र हिन्दुस्तान पेट्रोलियमले केही समयदेखि रुसी कम्पनी रोसनेफ्टसँग तेल खरिदका लागि छलफल गरिरहेको थियो। रोयटर्सका अनुसार यो छलफल असफल भएको छ। 

रोसनेफ्टले अन्य ग्राहकलाई तेल बिक्री गरिरहेकाले भारतलाई बिक्री गर्नका लागि उससँग अतिरिक्त तेल छैन। यससँगै अब भारतीय रिफाइनरहरुले स्पट मार्केटबाट कच्चा तेल खरिद गर्न सक्नेछन्। तथापि स्पट मार्केटमा कच्चा तेलको मूल्य महँगो छ। यद्यपि भारत पेट्रोलियम कर्पोरेसन र हिन्दुस्तान पेट्रोलियमलाई जुलाई महिनामा लगभग १० लाख देखि २० लाख ब्यारेलसम्म रुसी तेल प्रदान गर्ने सम्भावना रहेको रिपोर्टमा उल्लेख छ।    

अहिले भारतको एउटामात्रै कम्पनी ‘इन्डियन आयल’ले मात्रै रुसी कम्पनीसँग सस्तोमा कच्चा तेल खरिदका लागि ६ महिनाको सम्झौता गर्न सफल भएको छ। यो सम्झौताअनुसार इन्डियन आयलले रुसी तेल कम्पनीबाट प्रत्येक महिना ६० लाख ब्यारेल तेल खरिद गर्न गर्न सक्नेछ। यसका साथै ३० लाख ब्यारेलभन्दा बढी तेल खरिद गर्न सक्ने विकल्पसमेत रहेको छ। 

भारतसँगको सम्झौता रद्द हुनुले पश्चिमा प्रतिबन्धको बढ्दो दबाबका बाबजुत रुसले आफ्नो तेल निर्यात जारी राख्न सफल भएको संकेत गरेको छ। रिपोर्टका अनुसार एभरेस्ट इनर्जी, कोरल इनर्जी, बेलाट्रिक्स र सनराइनजस्ता ट्रेडिङ कम्पनीमार्फत रोसनेफ्टले कच्चा तेललाई बजारमा पठाइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार कच्चा तेलको १२४ डलर प्रतिब्यारेल पुगेको छ। जुन १३ हप्ताकै उच्च हो।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्नु र रुसले सस्तोमा तेल बेच्न अस्वीकार गरेसँगै भारतीय बजारमा यसको प्रभाव पर्ने देखिन्छ। यिनै कारणले भारतीय तेल कम्पनीहरुको नोक्सानी बढ्न सक्ने र घाटा पूर्तिका लागि तेलको मूल्य बढाउन सक्ने देखिन्छ। 

अर्कोतर्फ भारुको तुलनामा डलर मजबुत बन्दै गएको छ। यसको अर्थ तेल आयतमा लाग्ने भुक्तानी पनि बढ्ने देखिन्छ। –एजेन्सी