काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसविरुद्धको भ्याक्सिन विकासमा रुसले अमेरिका, चीन र बेलायतलाई पछाडि पार्ने भएको छ।

रुसले आगामी अक्टोबर महिनामा देशभर ठूलो स्तरमा कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ। यद्यपि रुसले गर्न लागेको यो खोप कार्यक्रमका विषयमा भने स्वतन्त्र रुपमा पुष्टि भने भएको छैन। 

यदि रुसी कोरोना भ्याक्सिन सबैभन्दा पहिले सफल हुन्छ भने यसले विश्व समुदायलाई राहात मिल्ने निश्चित छ। द गार्डियनको रिपोर्टअनुसार रुसी अधिकारीहरुले १० अगस्तसम्म त्यहाँ विकसित मुख्य भ्याक्सिनलाई प्रयोगको अनुमति प्रदान गर्न सकिने जनाएका छन्। उनीहरुले रुसले आफूले विकास गरेको भ्याक्सिन उपलब्ध गराउन ब्राजिल, साउदी अरेबिया, भारतजस्ता देशसँग सम्झौता गर्न सक्नेसमेत जानकारी दिए। यी देशहरुले रुसी भ्याक्सिन खरिदमा चासो देखाएको समेत अधिकारीहरुले बताएका छन्। 

रुसले अर्काे महिना अर्थात सेप्टेम्बरमा कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन सुरु गर्ने जनाएको छ। यसका साथै अक्टोबर महिनादेखि देशव्यापी रुपमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउने कार्यक्रम सञ्चालन गरिनेछ। 

खास कुरा के भने भ्याक्सिनको परीक्षणमा तीव्रता ल्याउन रुसी अनुसन्धानकर्ताहरुले आफूहरु स्वयंले नै खोप लगाएका थिए। 

अमेरिका र बेलायतको कोरोना भ्याक्सिनको परीक्षणका बारेमा धेरै जानकारीहरु प्रकाशित भएका छन्। तर रुसी भ्याक्सिनका बारेमा सीमित जानकारीमात्रै सार्वजनिक भएका छन्। 

एक अपुष्ट जानकारीका अनुसार अहिले रुसका धनाढ्यहरुलाई कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध हुन थालिसकेको छ। 

रुसका व्यापारमन्त्री डेनिस मैन्तुरोवले एक महिनाभित्र रुसले कोरोनाविरुद्धको लाखौँ डोज खोपहरु उत्पादन गर्न सक्ने बताएका छन्। उनले रुसका तीन ठाउँमा भ्याक्सिन उत्पादनको तयारी भइरहेको पनि जानकारी दिए। 

यसअघि रुसका स्वास्थ्यमन्त्री मिखेले मुरास्कोले भ्याक्सिनको क्लिनिकल परीक्षण पूरा भएको र अनुमतिका लागि अब कागजी प्रक्रियामात्रै बाँकी रहेको बताएका थिए। – एजेन्सी