काठमाण्डौ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसबाट तेल र प्राकृतिक ग्यास आयातमा प्रतिबन्ध लगाउने विषयमा अमेरिका र उसका सहयोगी राष्ट्रहरुबीच वार्ता भइरहेको बताएका छन्।

सीएनएनसँगको कुराकानीमा आइतबार अमेरिकी विदेशमन्त्री ब्लिन्केनका अनुसार राष्ट्रपति जो बाइडेनले अघिल्लो दिन यस विषयमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक गरेका थिए। बाइडेन र पश्चिम देशहरुले अहिलेसम्म रुसको ऊर्जा उद्योगमा प्रतिबन्ध लगाएका छैनन् ता कि यसले उनीहरुको अर्थतन्त्रलाई असर नपरोस्। ‘हामी हाम्रा युरोपेली साझेदार र सहयोगीहरुसँग रुसबाट तेलको आयातमा प्रतिबन्ध लगाउने सम्भावनाबारे छलफल गर्दैछौँ’, ब्लिन्कनले भने, ‘यसका साथै विश्वभरका बजारमा तेलको पर्याप्त आपूर्ति छ–छैन भन्ने विषयमा सुनिश्चितता गर्दैछौँ।’ 

गत फेब्रुअरी २४ मा रुसी सेनाले युक्रेनका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्यका रुपमा मान्यता दिएको थियो। त्यसको ३ दिनपछि रुसले युक्रेनमाथि सैन्य कारबाही सुरु गर्यो। त्यसपछि पश्चिमी देशहरुले रुसमाथि प्रतिबन्धहरु लगाए। 

रुसले युक्रेनमा लगातार आफ्नो आक्रमण गरिरहेको छ। जसका कारण रुसमाथि पश्चिमी देशहरु विशेषगरी अमेरिका र बेलायतले प्रतिबन्ध लगाएका छन्। –एजेन्सी