काठमाण्डौ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले रुसको कोरोनाभाइरसविरुद्धको भ्याक्सिन विकासको प्रयासलाई मुक्तकण्ठले प्रशंसा गरेका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपति डुटेर्टेले रुसको कोरोनाविरुद्धको भ्याक्सिनको परीक्षणमा आफू स्वयं सहभागी हुने इच्छासमेत जाहेर गरेका छन्। रुसले आफूले विकास गरिरहेको यो भ्याक्सिन फिलिपिन्सलाई प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। 

कोरोनाविरुद्धको भ्याक्सिन विकास गर्न यतिबेला विश्वभर होडबाजी चलिरहेको छ। यसलाई लिएर चिन्ता पनि प्रकट भइरहेका छन्। केही दिनअघि रुसको भ्याक्सिनलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आशंका पनि जनाएको थियो। डब्ल्यूएचओले भ्याक्सिनको विषयमा हतारो गर्दा सुरक्षा खतरा हुन सक्ने जनाएको थियो। 

यस्तोमा फिलिपिन्सका राष्ट्रपतिले रुसको भ्याक्सिनको पहिलो प्रयोग आफूमाथि गर्न सक्ने प्रस्ताव गरेका हुन्। 

सोमबार राष्ट्रपति रोड्रिगोले भनेका थिए, ‘म राष्ट्रपति पुटिनलाई कोरोनाविरुद्धको लडाइँमा रुसको अनुसन्धानमा मेरो पूर्ण भरोसा रहेको बताउन चाहन्छु। मेरो विचारमा रुसले विकास गरिरहेको भ्याक्सिन मानवताको हितमा रहेको छ।’       

फिलिपिन्स एसियाको ती देशहरुमा समावेश छ जहाँ कोरोना संक्रमितको संख्या धेरै रहेको छ। फिलिपिन्समा अहिलेसम्म १ लाख ३६ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

रुस सरकारले आफ्नो भ्याक्सिनलाई यो महिनाको अन्त्यसम्म सञ्चालन अनुमति प्राप्त हुने विश्वास लिएको छ। समाचारका अनुसार अनुमति प्राप्त भएपछि फिलिपिन्समा पनि रुसको भ्याक्सिनको उत्पादन गरिनेछ। – एजेन्सी