काठमाण्डौ । कोरोनाविरुद्धको स्पुत्निक–५ नामक भ्याक्सिन लन्च गरिसकेको रुसले फेरि अर्को भ्याक्सिनलाई प्रयोगका लागि अनुमति दिने तयारी गरेको छ। 

समाचार एजेन्सी रोयटर्सका अनुसार बुधबार देशका उपप्रधानमन्त्री तात्याना गोलिकोवाले आउँदो सेप्टेम्बरको अन्त्यसम्म वा अक्टोबरको सुरुआतमै उक्त भ्याक्सिन प्रयोगका लागि अनुमति दिइने जानकारी दिएका हुन्। टेलिभिजनमा प्रसारित एक सरकारी बैठकमा उपप्रधानमन्त्री गोलिकोवाले राष्ट्रपति भ्लादिमिर पुटिनलाई साइबेरियामा रहेको भेक्टर बाइरोलोजी इन्स्टिच्युटद्वारा विकसित उक्त भ्याक्सिनको क्लिनिकल ट्रायल सेप्टेम्बरको अन्त्यसम्म पूरा हुने जानकारी गराए। 

गोलिकोवाका अनुसार उक्त भ्याक्सिनको मानिसमा गरिएको पहिलो र दोस्रो चरणको परीक्षणमा राम्रै नतिजा आएको छ। ‘यो भ्याक्सिनले मानिसमा कुनै हानि पुर्याएको देखिएन’, उनले भने। 

यसअघि यही महिना कोरोनाविरुद्धको भ्याक्सिनलाई प्रयोगमा ल्याउन अनुमति दिने रुस पहिलो राष्ट्र बनेको थियो। रुसले दुई महिनाभन्दा कम समयमा मानवमा गरिने परीक्षण पूरा गरी गेमालेया इन्स्टिच्युटले बनाएको कोरोनाविरुद्धको भ्याक्सिन ठूलो मात्रामा उत्पादन गर्ने अनुमति दिइसकेको छ।

अन्तरिक्षमा छाडिएको सोभियत संघको पहिलो उपग्रह स्पुत्निकको सम्झनामा यो भ्याक्सिनको नाम स्पुत्निक–५ राखिएको छ। रुसी अधिकारीहरुले यो भ्याक्सिन पूर्ण रुपमा सुरक्षित र प्रभावकारी रहेको दाबी गरेका छन्। 

यद्यपि पश्चिमा राष्ट्रहरुका जानकारहरुले स्पुत्निक–५ भ्याक्सिन प्रयोगमा ल्याउनुअघि अन्तर्राष्ट्रियस्तरमा परीक्षण हुनुपर्ने आवाज उठाउँदै आएका छन्। 

रुसी डायरेक्ट इन्भेस्टमेन्ट फन्डले बुधबार स्पुत्निक–५ भ्याक्सिनको क्लिनिकल ट्रायलको अन्तिम चरणमा सुरु हुन लागेको जानकारी गराएको छ। यो ट्रायलमा ४० हजार मानिस सहभागी हुने र यस्तै ट्रायल अन्य ५ देशमा पनि गरिने फन्डले जानकारी दिएको छ। – एजेन्सी