काठमाण्डौ । नेपालमा पूर्वाधार, उत्पादनशील लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको पूँजी भएको एनआरएन नेपाल डेभलमेन्ट फण्डको स्थापना भएको छ । 

अर्थ मन्त्रालय र गैरआवासीय नेपाली संघद्वारा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार एनआरएन नेपाल डेभलमेन्ट फण्डमा गैरआवासीय नेपालीको ९ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ५० करोड रुपैयाँ शेयर लगानी हुनेछ । 

२०७५ सालमा सम्पन्न लगानी सम्मेलनमा नेपाल सरकार र गैरआवासीय नेपाली संघबीच भएको समझदारी बमोजिम गैरआवासीय नेपाली संघले स्थापना गर्ने उक्त कम्पनीमा नेपाल सरकारको पाँच प्रतिशत लगानी हुने भएको हो । 

पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल सबै हिसाबले लगानीमैत्री भएको भन्दै लगानी दूतको भूमिका निर्वाह गर्न गैरआवासीय नेपालीलाई आग्रह गरे । 

'सरकार कानूनी र नीतिगत रुपमा विदेश पूँजी भित्राउन प्रतिबद्ध छ ।छरिएर रहेको पूँजीमात्र होइन, विदेशी पूँजी पनि ल्याउन चाहन्छ' अर्थमन्त्री पौडेलले भने-'लगानी बैध स्रोतको र बैंकिङ प्रणालीबाट मात्र राष्ट्रको प्राथमिकतामा लगानी हुन भने जरुरी छ ।' 
 
अर्थमन्त्री पौडेलले एनआरएन नेपाल डेभलमेन्ट फण्ड स्थापनमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै चुनौती पनि सँगै आएको धारणा व्यक्त गरे । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक निजी साझेदारीका रुपमा आएको कम्पनीले थप आशा जगाएको भन्दै नेपालमा धेरै क्षेत्रमा लगानीका लागि अवसर रहेको बताए । 

अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानाले होल्डिङ कम्पनीका रुपमा अघि बढाउन सके लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरे । 

राजस्व सचिव रामशरण पुडासैनीले गैरआवासीय नेपालीको तर्फबाट आउने लगानीका लागि  सरकारले आवश्यक सहयोग गर्ने बताए । 

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले केही वर्षमा फण्डमा लगानीयोग्य रकम  ५० अर्ब रुपैयाँ भन्दा बढी पुर्याउने बताए । 

गैरआवासीय नेपाल संघका संस्थापक अध्यक्ष तथा फण्डका अध्यक्ष डा. उपेन्द्र महतोले पूँजी, कर्पोरेट कल्चर, सुशासन, प्रविधि लगायत ल्याउने भन्दै सरकारसहित सबैको साथ सहयोगको अपेक्षा गरे । 

नेपाल सरकारको ५० करोड रुपैयाँ शेयर लगानी सहित गैर आवासीय नेपाली प्रबर्द्धक रहेको कम्पनीमा ३ अर्ब रुपैयाँको वैदेशिक मुद्रामा लगानीको प्रतिबद्धता प्राप्त भइसकेको छ । नेपालको उद्यम, व्यवसाय र यातायात, पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको छ। 

गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै प्राथमिक सेयर (आई.पी.ओ.) निष्काशन गरिने योजना रहेको गैरआवासीय नेपाली संघले जनाएको छ ।