काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका नयाँ नोट मंगलबारदेखि प्रचलनमा ल्याएको छ ।

राष्ट्र बैंकले ओ/१८०००००१ देखि क/३७ ९९९९९९ सम्मका संकेत नम्बर भएका रु. १०० दरको नयाँ नोट प्रचलनमा ल्याएको हो । नयाँ नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र छ भने मध्यभागको पृष्ठभूमिमा नेपालको नक्सा  छ । नयाँ नोटमा अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा ‘लुम्बिनी दी बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ ।

अशोक स्तम्भसँगै दृष्टिविहीनहरूलाई नोट पहिचानका लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको छ । अशोक स्तम्भको बायाँतर्फ अन्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र रहेको भने दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ ।

७.२ मिमि चौडा भएको रङ परिवर्तन हुने (नोटलाई सीधा हेर्दा रातो रंग र ढल्काएर हेर्दा हरियो रंग देखिने) सुरक्षण धागो राखिएको छ । तल्लो भागमा गभर्नर डा. चिरञ्जीवी नेपालको दस्तखत रहेको छ ।

नयाँ नोटको पृष्ठ भागको मध्यभागमा अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ । नोटको बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा २०१९ ए.डी. लेखिएको छ । साथै नोटको मध्यभागको तलपट्टी अंग्रेजीमा ‘रुपिज् वान हन्ड्रेड’ लेखिएको छ ।

नयाँ नोटको पृष्ठ भागको मध्यभागमा एकसिंगे गैँडाको माउ र बच्चाको चित्र राखिएको छ ।