-चन्द्रकान्त खनाल
रुपन्देही । बुटवल उपमहानगरपालिकामा पार्किङसहितको अत्याधुनिक सपिङ कम्प्लेक्स बन्ने भएको छ । 

हाल लुम्बिनी बस टर्मिनल रहेको परिसरमा पार्किङसहितको तीन तलाको भवन बन्ने भएको हो ।

यो अत्याधुनिक भवन नगर विकास कोषसंगको विशेष सहकार्यमा तीन वर्षमा निर्माण सम्पन्न हुने गरी सोमबार सम्झौता भएको छ । 

बुटवल उप–महानगरपालिका प्रमुख शिवराज सुवेदी र नगर विकास कोषका कार्यकारकी निर्देशक मनिरामसिंह महतकाबीच सोमबार काठमाण्डौंस्थित नगर विकास कोषको कार्यालयमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

बुटवललाई आर्थिक कारोबारको केन्द्र बनाउन महत्वपूर्ण भूमिका खेल्ने र बुटवलका लागि दिगो आयस्रोतको आधार बन्नसक्ने प्रमुख सुवेदीले बताए। १० करोड ८४ लाख रुपैंयाको कुल लागतमा बन्ने सो भवनको निर्माणकार्य बैशाखबाट सुरु हुने प्रमुख सुवेदीले जानकारी दिए । 

बुटवलको सम्भावनालाई साकार पार्ने गरी सहकार्य गर्ने सम्झौता भएको उल्लेख गर्दै कोषका कार्यकारी निर्देशक महतले सम्झौता अनुरुपका कामहरु प्रभावकारी रुपमा सम्पन्न गरिने बताए ।

भवनका लागि आवश्यक लागतको ९० प्रतिशत अर्थात् नौ करोड ७५ लाख बराबरको बजेट ऋणको रुपमा नगर विकास कोष काठमाण्डौंले लगानी गर्नेछ । बाँकी १० प्रतिशत अर्थात् एक करोड आठ लाख ४५ हजार रकम भने बुटवल उपमहानगरपालिका आफैंले जोहो गर्नेछ । 

कोषले आठ प्रतिशत ब्याजदरमा २० वर्षका लागि उक्त रकम बराबरको ऋण उपलब्ध गराएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले बताए । कोषसँगको सम्झौताले आफूहरुलाई हौसला बढेको सिग्देलको भनाई छ । 

बुटवलमा पार्किङको अभाव बढ्दै गइरहेका बेलामा बुटवल उपमहानगरले त्यसलाई समेत मध्यनजर गर्दै पार्किङसहितको अत्याधुनिक सपिङ कप्लेक्स निर्माण गर्न लागेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीको भनाई छ । अब लगत्तै ठेक्कापट्टा र बाँकी प्रक्रियागत कामहरु अगाडि बढ्ने बताए ।

बुटवल उपमहानगरपालिकाले अगाडि सारेका आवधिक र दीर्घकालिन महत्वका योजनाहरुमध्येकै एउटा योजना सपिङ कम्पलेक्स रहेको उल्लेख गर्दै प्रवक्ता रेग्मीले निजी र सहकारी क्षेत्रसंगको सहकार्यमा अरु योजनाहरुलाई पनि प्रभावकारी रुपमा अगाडि बढाइने बताए।

तीन तलाको भवनमा पार्किङ बाहेक विभिन्न साइजका ६८ वटा व्यवसायिक सटरहरु निर्माण हुने र ती सबै अत्याधुनिक मापदण्डका रहने बुटवल उपमहानगरपालिका प्रमुख इञ्जिनियर सुमन श्रेष्ठले बताए । उनका अनुसार भुइँतलामै १४ सटर तथा पहिलो र दोस्रो तलामा २७/२७ वटा सटर बन्नेछन् ।