काठमाण्डौ । भोलि मंगलबार जारी हुने १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बैंक तथा वित्तीय संस्थाहरुले नवीकरण गरेका छन्।

नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले यसपटकको ट्रेजरी बिल बैंक तथा वित्तीय संस्थाहरुले नै नवीकरण गरेको जनाएको छ।

राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँ र १८२ दिनका लागि ३ अर्ब रुपैयाँको ट्रेजरी बिल हिजो आइतबार बोलकबोलमा ल्याएको थियो। यी ट्रेजरी बिल क्रमशः पुस १२ गते र चैत १४ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुुसार ९१ दिने ट्रेजरी खरिदका लागि १३ बैंक तथा वित्तीय संस्थाले ८० वटा आवेदनमार्फत १४ अर्ब २५ करोड रुपैयाँबराबरको बोलकबोल पेस गरेका थिए। जसमा न्यूनतम ९.००२६ प्रतिशत, अधिकतम ९.९९९९ प्रतिशत र औसत ९.५१८ प्रतिशत ब्याजदरमा बैंकहरुले ट्रेजरी बिल स्वीकार गरेका हुन्।

यस्तै १८२ दिने ट्रेजरी खरिदका लागि ९ बैंक तथा वित्तीय संस्थाले ४४ वटा आवेदनमार्फत ३ अर्ब ८० करोड रुपैयाँबराबरको बोलकबोल पेस गरेका थिए। यसमा न्यूनतम ९.९६६ प्रतिशत, अधिकतम ९.९९०१ प्रतिशत र औसत ९.७४०६ प्रतिशत ब्याजदर कायम भएको छ।

यसअघिको ट्रेजरीमा बैंक तथा वित्तीय संस्थाले अधिकतममा ११ प्रतिशतभन्दा बढी ब्याजदर माग गरेका थिए। राष्ट्र बैंकले असोज ४ गते ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो। जसमा केन्द्रीय बैंकले झन्डै ५ अर्बको ट्रेजरीमा हस्तक्षेप गरेको थियो।