काठमाण्डौ । रु. १५ लाखसम्मको कृषि उद्यम गर्नेले बैंक ब्याज र अन्य शुल्कमा विशेष छुट पाउने भएको छ । 

नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो । 

रु. १५ लाखसम्मको कृषि, उद्यम तथा व्यवसाय प्रवद्र्धन कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्न पाउने व्यवस्था गरिएको हो ।

यस्तै, कुनै प्रकारको सेवा शुल्क लिन नपाउने र समय अगावै कर्जा भुक्तानी गरेमा अग्रिम भुक्तानी शुल्क लिन नपाइने व्यवस्था समेत हुने घोषणा गरिएको छ । 

साथै, बैंक तथा वित्तीय संस्थाका प्रत्येक शाखाले यसप्रकारको कर्जा निवेदन प्राप्त भएको सात दिन भित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा सोको प्रष्ट कारण समेत सम्बन्धित ग्राहकलाई जानकारी दिनुपर्ने व्यवस्था गरिने समेत मौद्रिक नीतिमा उल्लेख छ ।