काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले लगानीकर्तामैत्री मोवाइल एप निर्माणको काम तीव्र गतिमा अगाडि बढाएको छ । 

नेप्सेले मोवाइलबाटै सेयर कारोबार गर्न मिल्ने, बैंकलाई लिंक गरी भुक्तानी गर्न र पाउन मिल्ने लगायतका फिचर्स राखेर मोवाइल एप निर्माणको कामलाई तीव्रता दिएको हो । 

'एन्ड्रोइड र आइओएस गरी दुवै भर्जनमा चलाउन मिल्ने एप निर्माण थालिएको छ ।' नेप्सेका एक उच्च अधिकारीले भने-'कारोबार नै गर्न मिल्ने एप हामीसँग थिएन । यो काम चाँडै सकिने अपेक्षा छ ।' 

टिएमएसको लिंक खोलेर मोवाइलबाट अहिले समेत कारोबार गर्न मिल्छ । तर, त्यो एप होइन । अब भने नेप्सेले विशेष फिचर्स समेटिएको एप नै निर्माण गर्न लागेको हो । 

यसैबीच, नेप्सेले सेयर बजारमा बढ्दो लगानीकर्ताको सहभागितालाई विश्लेषण गरी अबको १५ वर्षपछि पनि फिट हुने क्षमताको सिस्टम विकासमा पनि चासो दिइरहेको बताइएको छ।

'यो विषयमा रिसर्च समेत भइसकेको छ । रिसर्चबाट प्रतिसेकेण्ड ५० लाख अर्डर राख्न मिल्ने बलियो सिस्टमको विकास गर्नुपर्ने आवश्यकता देखिएको छ ।' ती अधिकारीले भने-'यसका लागि हामीले पूर्व तयारी थालेका छौं । कम्तीमा अबको १५ वर्षपछिका लागि समेत सिस्टम बलियो बनिरहोस्, ढुक्कले काम गर्न सकियोस् ।' 

त्यस्तो बलियो सिस्टम निर्माण, खरीद तथा व्यवस्थापनका लागि करिब १ अर्ब लाग्ने अनुमान गरिएको छ । नेप्सेको अहिलेको नेतृत्वले प्रक्रिया पुर्याएर रु. १ अर्बको सिस्टमको विकास गर्ने पूर्वतयारी थालिसकेको बताइएको छ ।