काठमाण्डौ । ‘पोसिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ केही महिना अघिमात्रै स्थापना भएको राष्ट्रिय खाद्य बैंकको नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयको शुभारम्भ गरिएको छ। 

खाद्य बैंकका कर्मचारी तथा सञ्चालकहरुको रोहबरमा केन्द्रीय कार्यालयको विधिवत (पूजापाठसहित) शुभारम्भ गरिएको बैकका अध्यक्ष शंकरनाथ उप्रेतीले बताए। २ अर्ब लगानीमा देशव्यापी रुपमा व्यावसायिक कृषि उत्पादन गर्ने, भण्डारण तथा बजारीकरण गर्ने लक्ष्य उद्देश्य साथ स्थापना भएको खाद्य बैंक नेपालमै नवीनतम सोचसहित अघि बढेको बैंक हो। 

खाद्य बैकले कृषिमा परनिर्भरता घटाउने, कृषि उत्पादन बढाउने, रोजगारी बढाउने र अग्रानिक उत्पादनमा जोड दिएर जनस्वास्थ्यको विषयलाई सम्बोधन गर्ने उद्देश्य लिएको छ। हालसम्म खाद्य बैंकमा ५९० जना प्रमोर्टर शेयर सदस्य रहेका छन्। बैंकले त्यसलाई बढाएर १ हजार जना प्रमोर्टर सेयर सदस्य बनाउने उद्घोष यसअघि नै गरिसकेको छ। 

सरकारी मापदण्ड पूरा गरी केही वर्षभित्रै सर्वसाधारणका लागि आईपीओ जारी गर्नेसमेत खाद्य बैंकको योजना छन्। सेयर सदस्य तथा सरोकारवालाहरु बढाउँदा खाद्य बैंकको उत्पादनको बजारीकरणलाई पनि सहज हुने भएकोले त्यसरी अघि बढ्न खोजिएको अध्यक्ष उप्रेतीले बताए। 

खाद्य बैंकले पहिलो चरणमा २३ वटा जिल्लामा यस वर्षभित्र कृषि उत्पादनको काम थाल्ने प्रक्रिया सुरु गरिसकेको छ। खाद्य बैंकले त्यसका लागि तराईका विभिन्न जिल्लाहरुमा करिब ६०० बिघा जमिन लिजमा लिइसकेको छ। 

यसै वर्षभित्र बैंकले उत्पादन गरेका अग्र्यानिक उन्मुख अनाजहरु सेयर सदस्यहरु तथा उपभोक्ताहरुले उपभोग गर्न पाउने अध्यक्ष उप्रेतिले बताएका छन्।