काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था घाटामा गएको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म यो कम्पनी ३ करोड ५५ लाख रुपैयाँले घाटामा गएको हो । 

अघिल्लो वर्षको यही अवधिमा कम्पनीले ५ करोड  ५७ लाख खूद नाफा कमाएको थियो । 

खूद ब्याज आम्दानी तथा कमिसन वा अन्य शीर्षकमा हुने आम्दानीमा तीव्र गिरावट भएका कारण कम्पनी खूद घाटामा पुगेको हो । 

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले खूद ब्याज, कमिसन तथा फीबाट १२ करोड ८० लाख मात्र आम्दानी गर्न सकेको छ । जबकि अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनीले ६३ करोड ८६ लाखभन्दा बढी आम्दानी गरेको थियो । 

अघिल्लो वर्ष ४७ करोडभन्दा बढी रहेको खूद ब्याज आम्दानी घटेर यो वर्ष ८ करोड ५९ लाखमा सीमित बन्न पुगेको देखिन्छ । 

कुल ७३ करोड २० लाख चुक्तापूँजी भएको यो कम्पनीको रिटेन अर्निङ १ करोड ७४ लाख रुपैयाँले नेगेटिभ बन्न पुगेको छ । 

समीक्षा अवधिमा नेरुडे लघुवित्तले ३ अर्ब ३७ करोड बढी निक्षेप संकलन गरी तथा ४ अर्ब ९१ करोड बढी सापटी लिई ९ अर्ब ८९ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ३ अर्ब २० करोड बढी निक्षेप संकलन गरी तथा ५ अर्ब २० करोड सापटी लिई ९ अर्ब ९१ करोड बढी कर्जा परिचालन गरेको थियो । 

कम्पनी खूद घाटामा गएका कारण अघिल्लो वर्षको यही अवधिमा ४७.५० रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेर ५.७५ रुपैयाँमा सीमित बनेको छ । 

तेश्रो त्रैमासको अन्तिम दिनको सेयर कारोबारका आधारमा तय एलटिपीअनुसार कम्पनीको मूल्य आम्दानी अनुपात १०६.९७ गुणा, प्रतिसेयर नेटवर्थ १७१.४१ रुपैयाँ र तरलता अनुपात १५.४७ प्रतिशत कायम भएको छ ।