काठमाण्डौ । लगातार २ सातादेखि चन्द्रागिरी हिल्सको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढिरहेको छ। 

धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारी बढेर पोजेटिभ सर्किट लागेको छ। योसँगै कम्पनीको सेयर प्रतिकित्ता १ हजार २९२ रुपैयाँ कायम भएको छ। 

हालै आईपीओ बिक्री दोस्रो बजारमा कारोबार भइरहेको यो कम्पनी सेयरमूल्य अस्वाभाविक रुपले बढ्दा लगानी त जोखिममा पर्ने होइन भन्ने त्रास आमलगानीकर्तामा देखिन थालेको छ। 

होटेल तथा पर्यटन समूहमा सूचीकृत यो कम्पनीको सेयर किन्ने भीड नै लाग्ने गरेको छ तर बेच्नेहरु कमै छन्। यही समूहमा सूचीकृत अन्य कम्पनीहरुको सेयरमूल्य भने ५०० रुपैयाँमुनि रहेको छ। जसअनुसार हिजोको अन्तिम कारोबार मूल्यअनुसार ओरियन्टल होटेलको ४७६ रुपैयाँ, तारागाउँ रिजेन्सी होटेलको ३२१ रुपैयाँ र सोल्टी होटेलको २०३ रुपैयाँ रहेको छ। 

यो कम्पनीको सेयर कर्नरिङ भइरहेको देखिन्छ। बजारमा सुनियोजित रुपमा यो कम्पनी सेयर बिक्रीकर्ता नहुनुले यसलाई प्रस्ट पार्छ। सोही कारणले यो कम्पनीको मूल्य १ हजार रुपैयाँभन्दा माथि पुगेको बजार जानकारहरु बताउँछन्। ‘सेयर कर्नरिङको सम्भावना चुक्तापुँजी कम भएका र ठूला लगानीकर्ताहरुको पकडमा रहेका कम्पनीहरुमा अझै धेरै हुने गरेको उनीहरुको भनाइ छ। निश्चित विन्दुमा पुगेर त्यस्ता लगानीकर्ताहरुले आफूसँग भएका सेयरबाट मनग्न कमाएर बजारबाट बहिरिएमा त्यस्ता कम्पनी सेयरमूल्यमा पहिरो जाने र सोझा लगानीकर्ताहरु मर्कामा पर्ने उनीहरुको ठम्याइ छ। 

कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित तथा सञ्चालित चन्द्रागिरी हिल्सको गत आर्थिक २०७५÷७६मा प्रतिसेयर नेटवर्थ ९६.९६ रुपैयाँमात्रै छ र प्रतिसेयर आम्दानी (ईपीएस) ०.०६ रुपैयाँमात्रै रहेको कम्पनीद्वारा जारी विवरणपत्रमा उल्लेख छ। ३ करोड ३० लाख ९५ हजार सञ्चित नोक्सान भएको कम्पनीले जनाएको छ।

विवरणपत्रमा गत आर्थिक वर्षमा प्रतिसेयर नेटवर्थ घटेर ८४.८८ रुपैयाँ रहेको अपरिष्कृत विवरणमा बताइएको छ भने ईपीएस नेगेटिभ १२.६७ रहेको जनाइएको छ। सञ्चित नोक्सानी चुलिएर २० करोड ४१ लाख रुपैयाँ बढी नाघेको छ।

कम्पनीले नै प्रक्षेपण गरेको आर्थिक वर्ष २०७७÷७८ (चालु) नेटवर्थ ९०.६९ रुपैयाँ रहेको छ भने ईपीएस केबल ४ रुपैयाँमात्रै रहेको जनाएको छ। सञ्चित नोक्सानी १४ करोड २७ लाख रुपैयाँ बढी रहने प्रक्षेपण कम्पनीको छ।

साधारणतया कम्पनीको आधारभूत पक्षको विश्लेषण उक्त कम्पनीको वित्तीय अवस्थाले छर्लङ बनाउँछ। चालु आवमा प्रतिसेयर नेटवर्थ ९०.६९ रुपैयाँ रहेको छ भने ईपीएस केबल ४ रुपैयाँमात्रै रहेको कम्पनीको दाबी छ। सामान्यतया नेटवर्थको ३ गुणासम्म सो कम्पनीको सेयरमूल्य रहनु जोखिमरहित लगानीका रुपमा हेरिन्छ तर कम्पनीको ईपीएस ४ रुपैयाँमात्र देखिएकाले लगानीकर्तालाई प्रतिफल भने हातमा लाग्यो शून्यको अवस्था छ। 

त्यसो चन्द्रागिरी हिल्सका अनुसार यो परियोजनामा गरिएको साधारण लगानी फिर्ता हुने अवधि ७.९ वर्ष लाग्ने र परियोजनाको डिस्काउन्टमा लगानी अवधि १०.९२ वर्ष लाग्नेछ। कम्पनीको खुद वर्तमान मूल्य ४५ करोड ५८ लाख ७१७ रुपैयाँ रहेको छ भने आआरआर २०.४ प्रतिशत रहेको जनाएको छ। साधारण लगानीको लागत उठ्न नै ८ वर्ष लाग्ने भएपछि कम्पनीले आगामी दिनमा कस्तो प्रतिफल दिने र कम्पनीको भविष्य कता जाला भन्ने हेक्का भने लगानीकर्ता स्वयंले निर्धारण गर्नुपर्छ।

चन्द्रागिरी हिल्सले सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता अर्थात् १३ करोड ९६ लाख २२ हजार रुपैयाँ बराबरको आईपीओ गत पुस २२ गतेदेखि २८ गतेसम्म जारी गरेको थियो। यो कम्पनीको सेयरमा कम आपूर्ति भएकाले उच्च माग देखिन्छ। कम आपूर्ति भएको सेयर भएको भन्दै उचालिएर धमाधम सेयर किनिरहेका देखिन्छन् तर कम्पनीको वित्तीय अवस्था र कम्पनी प्रदान गर्ने प्रतिफल निराशाजनक देखिन्छ। 

चन्द्रागिरी हिल्सको अधिकृत पुँजी २ अर्ब रुपैयाँ छ भने चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ।