काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता ७६६ रुपैयाँ अन्तिम बिक्री मूल्य भएको सेयर तपाईले रु. १०० मै पाउनुभयो भने ? हजूर यस्तै अवसर आउँदैछ बजारमा । 

गुराँस लाइफ इन्स्योरेन्सलाई धितोपत्र बोर्डले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासनको अनुमति दिएको छ । 

अर्थात यो कम्पनीको सेयर तपाईले बुक क्लोज मितिअघि जति कित्ता किन्नुभयो, सोही कित्ता बराबरको सेयर रु. १००(अंकित दर)मै पाउनुहुनेछ । 

कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य ७६६ रुपैयाँ रहेको छ । कम्पनीको बजार मूल्य निकै राम्रो ढंगले बढ्नु पछाडिको एउटा कारण सतप्रतिशत हकप्रद पनि हो । 

कम्पनीले ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर निश्कासन गर्नेछ । हकप्रद सेयर निश्कासन गरी कम्पनीले ९३ करोड ८५ लाख बढी पूँजी जुटाउनेछ । हालको चुक्तापूँजी पनि ९३ करोड ८५ लाख नै रहेकोले हकप्रदपछि पूँजी बढेर १ अर्ब ८८ करोडको हाराहारीमा पुग्नेछ । २ अर्ब पुग्न बाँकी पूँजी कम्पनीले बोनस सेयर दिएर जुटाउने रणनीति बनाएको छ । 

कम्पनीको हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल लिमीटेड रहेको छ । 

यो कम्पनीको दोश्रो बजार मूल्य एक महिनाअघि प्रतिकित्ता ४६१ रुपैयाँमा सीमित थियो । अहिले बढेर ७६६ पुगिसकेको छ । एक वर्षअघि ७८२ सम्म पुगेको थियो ।