काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस रोकथामका हरसम्भव प्रयास भएकै कारण मानवीय क्षति कम भएको दाबी गरेका छन्। 

अमेरिकी टेलिभिजन च्यानल स्पेक्ट्रम न्युजलाई अन्तर्वार्ता दिँदै राष्ट्रपति ट्रम्पले यस्तो दाबी गरेका हुन्। ‘यदि यो भाइरस रोकथाम तथा नियन्त्रणको प्रयास नभएका भए सायद अमेरिकामा ४० लाखसम्म मानिसको ज्यान जान सक्थ्यो’, उनले भनेका छन्, ‘तर हामीले हरसम्भव प्रयास गरिरहेका छौँ, त्यसैले कमै मानवीय क्षति भएको मान्नुपर्छ।’

अमेरिकामा हालसम्म १ लाख २० हजारभन्दा बढी मानिसको यो भाइरसबाट ज्यान गइसकेको छ। ‘अहिलेको परिस्थितिलाई हेर्दा मृतकको संख्या डेढ लाख वा त्योभन्दा केही बढी हुन सक्छ’, उनले भनेका छन्।

यसअघि गत मार्च १६ मा लन्डको इम्पिरियल कलेजको एउटा रिपोर्टले अमेरिकामा बेलैमा उचित कदम नउठाइए त्यहाँ कोरोनाबाट २२ लाखसम्म मानिसको ज्यान जान सक्ने देखाएको थियो। 

त्यसो हाल अमेरिकाका केही इलाकामा नयाँ संक्रमणको मामिलामा गिरावट आउन थालेको छ। तर टेक्सास, फ्लोरिडा र क्यालिफोर्नियासहित २३ राज्यमा अझै पनि संक्रमणको मामिला बढिरहेको छ। – एजेन्सी