काठमाण्डौ । आर्थिक समस्यामा जेलिएको गुण एयरलाइन्सले कर्मचारीलाई नियमित तलब पनि दिन नसकेपछि उसका सबै विमानहरुको उडानमा रोक लागेको छ । 

नागरिक उड्डयन प्राधिकरणले आर्थिक समस्यामा रहेको गुण एयरलाइन्सको उडान सुरक्षामा सोही विषयले जोखिम ल्याउनसक्ने भन्दै सबै उडान रोक्ने निर्णय गर्दै पत्राचार गरेको हो । प्राधिकरणले गुणका ७ वटै विमान रोक्न पत्र काटेपछि सोमबारदेखि नै उसका कुनै पनि विमानले उडान भर्न पाएनन् । 

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आर्थिक संकटबाट गुज्रिरहेको यो कम्पनीले आफ्ना कर्मचारीलाई नियमित तलब पनि दिन सकेको छैन । यस्तै, आर्थिक समस्याकै कारण विमानको मर्मत सम्भार, सुरक्षित उडानको व्यवस्थापन लगायतका काम प्रभावित भएको ठहर गर्दै उडान रोक्ने निर्णय गरिएको निरौलाको भनाई छ । 

'तलब नै नपाएको कर्मचारीले कसरी राम्रो काम गर्न सक्छ ? यस्तो मनोविज्ञानले हवाई सुरक्षामा जुनसुकै बेला जोखिम आउनसक्छ ।' निरौलाले भने-'यहीकारण अहिलेलाई उडान बन्द गरेका हौं ।' 

दुई वर्षअघि सिम्रिक एयरलाइन्सका विमानहरु किनेर गुण एयरलाइन्सले पुनः सेवा सुचारु गरेको थियो । तर, कमजोर व्यवस्थापनका कारण छोटो अवधिमै यो कम्पनी टाट पल्टिने अवस्थामा पुगेको बताइन्छ ।