काठमाण्डौ । अबको २१ घण्टा नेपालको राष्टिय राजनीति रोचक हुने भएको छ । मन्त्रीपरिषदको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको कुनै पनि सदस्यलाई बहुमतको आधारसहित नयाँ सरकार गठनको दाबी पेश गर्न भोलि अर्थात जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिएसँगै रोचक घटनाक्रमहरु हुने अनुमान गर्न सकिन्छ । 

राष्ट्रपति भण्डारीले  प्रतिनिधिसभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न समय दिएकी हुन् । 

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले केहीबेरअघि जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्री पदमा दाबी गर्नका लागि प्रतिनिधिसभा सदस्यलाई जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिइएको हो । 

'नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्म प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नुभएको छ।’ घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः विश्वासको मत नलिने निर्णयसहित ७६ को उपधारा ५ अनुसार सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राष्टपतिलाई लिखित रुपमा आग्रह गरेपछि राष्टपतिबाट यस्तो आह्वान भएको हो । 

अब संसदको कुनै सदस्यले बहुमतको आधारसहित प्रधानमन्त्रीमा भोलि साँझ ५ बजेसम्म दाबी पेश गरिसक्नुपर्नेछ । यदि त्यस्तो दाबी कसैबाट पेश भएन भने संसद स्वतः विघटन भई नयाँ निर्वाचनको घोषणा हुनेछ ।