लन्डन । उत्पादन क्षेत्रका २ करोड रोजगारी सन् २०३० सम्ममा यन्त्रमानव अर्थात् रोबोटले विस्थापन गर्न सक्ने एउटा विश्लेषक संस्था अक्सफोर्ड इकोनोमिक्सले जनाएको छ।

यस्ता कामबाट विस्थापित मानिसहरूले सेवा क्षेत्रमा पनि स्वचालित यन्त्रका कारण त्यसैगरी मानव रोजगारीको सङ्ख्या घटेको पाउने उक्त संस्थाको भनाइ छ।

तर बढ्दो स्वचालनले रोजगारी र आर्थिक वृद्धिदर बढाउने उक्त संस्थाले बताएको छ।

उक्त संस्थाले आयमा बढ्दो असमानता रोक्ने तर्फ काम गर्न आह्वान गरेको छ।

रोजगारी विस्थापन

प्रति औद्योगिक रोबोटले १.६ वटा उत्पादन क्षेत्रको रोजगारी विस्थापन गर्ने बताइएको छ।

उक्त संस्थाले खासगरी कम दक्ष क्षेत्रहरू बढी प्रभावित हुने बताएको छ।

अक्सफोर्ड इकोनोमिक्सका अनुसार कम दक्ष, कमजोर अर्थतन्त्र र अहिले नै उच्च बेरोजगार रहेका क्षेत्रमा रोजगारी गुम्ने जोखिम झन बढी रहेको छ।

त्यसबाहेक, रोबोटका कारण उत्पादन क्षेत्रबाट बाहिरिने कामदारहरूले यातायात, निर्माण कम्पनी, मर्मत र कार्यालय तथा प्रशासनिक काम पाउन सक्छन्।

तर यी क्षेत्र पनि स्वचालित यन्त्रका कारण जोखिममा परेका छन्।

राजनीतिक ध्रुवीकरण

औसतमा, एउटै देशमा पनि उच्च दक्ष क्षेत्रका तुलनामा कम दक्ष क्षेत्रहरूमा हरेक रोबोटले दोब्बर रोजगारी विस्थापित गरिदिनेछन्।

अक्सफोर्ड इकोनोमिक्सले भनेको छ- "यसले आर्थिक असमानता र राजनीतिक ध्रुवीकरण बढाइदिनेछ जुन अहिले नै बढ्दो क्रममा छ।"

अक्सफोर्ड इकोनोमिक्सका अनुसार काम जति दोहोरिरहने किसिमको हुन्छ त्यति विस्थापित हुने खतरा बढी हुने छ।

सिर्जना, संवेदना र सामाजिक दृष्टिकोण आवश्यक पर्ने काम भने मानिसहरूले नै गरिरहने उक्त संस्थाले जनाएको छ।

संस्थाले नीति निर्माता, व्यवसायीक नेताहरू, कामदारहरू र शिक्षकहरूलाई बढ्दो स्वचालनसँग सामन्जस्य राख्न सक्ने मानव स्रोत विकासबारे सोच्न आग्रह गरेको छ।

सन् २००० यता १७ लाख उत्पादनको काम रोबोटले खोसिसकेका छन्।

युरोपमा त्यस्तो सङ्ख्या ४ लाख, अमेरिकामा २ लाख ६० हजार र चीनमा ५ लाख ५० हजार रहेको संस्थाले बताएको छ।

उक्त संस्थाको अनुमान छ, सन् २०३० सम्म चीनमा सबभन्दा धेरै स्वचालित यन्त्र उत्पादन हुनेछ र त्यहाँ १ करोड ४० लाख औद्योगिक रोबोटहरू काममा हुनेछन्।

यूकेमा पनि हजारौँ रोजगारी विस्थापित हुन सक्ने संस्थाले जनाएको छ।

यद्यपि संसारभर ३० प्रतिशत रोबोट बढे भने त्यसले विश्वव्यापी रूपमा ५ खर्ब डलर कुल गार्हस्थ उत्पादन थपिने उक्त संस्थाले अनुमान लगाएको छ।

विश्वव्यापी रूपमा चाहिँ जति रोजगारी समाप्त हुन्छन् त्यति नै नयाँ रोजगारी उत्पन्न हुने पनि अक्सफोर्ड इकोनोमिक्सको विश्लेषण छ।

विश्लेषण

बीबीसीका प्रविधि संवाददाता रोरी सेलन जन्सको विश्लेषण छ:

फ्याक्ट्रीमा काम गर्नेदेखि पत्रकारसम्मको स्वचालित उपकरणका कारण रोजगारी विस्थापित हुने अनुमान हुँदै आएको छ।

तर यो रिपोर्टमा गरिएको सुक्ष्म विश्लेषणले स्वचालित यन्त्रका कारण उत्पादन बढ्ने र यसले जति रोजगारी गुम्छ त्यति नै थपिने अनुमान गरेको छ।

रोबोटको प्रयोग औद्यौगिक उत्पादनबाट सेवा क्षेत्रमा सर्ने देखिएपनि औद्योगिक उत्पादनमा नै रोबोटको खास प्रभाव रहने प्रतिवेदनले देखाएको छ। खासगरी चीनमा ठूलो सङ्ख्यामा मानव रोजगारी रोबोटले विस्थापित गर्नेछ।

रोबोटले ल्याउने नविनपनलाई प्रोत्साहन गर्ने तर त्यसले समाजमा विभाजन नल्याओस् भन्ने निश्चित गर्नु सरकारका लागि चुनौति हुनेछ। - बीबीसी नेपाली सेवाबाट