काठमाण्डौ । लक्जरी कार निर्माता चर्चित कम्पनी रोल्स रोयसले विश्वको सबैभन्दा महँगो कार लन्च गरेको छ। 

रोल्स रोयसले विश्वकै महँगो लक्जरी कारको नाम ‘बोट टेल’ राखेको छ। यो कारको मूल्य २० मिलियन पाउन्ड अर्थात ३२८ करोड नेपाली रुपैयाँ रहेको छ। 

रोल्स रोयसले यो कारलाई ४ वर्षको अथक मेहनतपश्चात तयार गरेको जनाएको छ। रोल्स रोयस बोट टेल चारवटा सिट भएको लक्जरी कार हो र यो १९ फिट लामो रहेको छ। 

यो पहिलो रोल्स रोयस कार हो, जसलाई लक्जरी कार निर्माताले कोचबिल्ड प्रोग्रामअन्तर्गत निर्माण गरेको छ। 

स्वेप टेललाई रोल्स रोयसले सन् २०१७ मा लगभग १७२ करोड नेपाली रुपैयाँमा बेचेको थियो। यो कारको केवल एउटामात्रै मोडल लन्च भएको थियो। युरोपका एकजना धनाढ्यको आग्रहमा यो लक्जरी कारको निर्माण गरिएको थियो। 

रिपोर्टका अनुसार बोट टेल कारको तीनवटा मोडल लन्च गरिनेछ। यो कारको पछाडिपट्टिको भाग एउटा लक्जरी स्पिडबोटसँग मिल्दोजुल्दो रहेको छ। 

रोल्स रोयसका सीईओ टार्सटन मुलरले यो कारलाई कुनै पनि होलिडेका लागि वा पिकनिक मनाउनका लागि हरप्रकारका सुविधाहरुका साथ तयार गरिएको र योभन्दा राम्रो प्याकेज अन्य कुनै पनि कारमा प्राप्त नहुने दाबी गरे। यसका साथै यो कारमा एउटा १५–स्पिकरको साउन्ड सिस्टम पनि रहेको छ। यो सिस्टमलाई यस्तो प्रकारले मोडिफाई गरिएको छ कि जसबाट कारको प्लेटफर्म एउटा साउन्ड बक्सजस्तै प्रयोग हुन सक्छ। 

यो कारका लागि स्विट्जरल्यान्डको प्रतिष्ठित घडी निर्माता कम्पनी ‘वोबी १८८२’ ले एउटा विशेष घडी तयार पारेको छ। यो कारमा त्यही इन्जिनको प्रयोग भएको छ, जुन यसअघिका रोल्स रोयस कलिनन, फ्यान्टम र ब्ल्याक ब्याजजस्ता लक्जरी कारमा प्रयोग भइसकेको छ। यसमा रहेको इन्जिन भी१२ ६.७५ बाइटर्बो इन्जिन ५६३ एचपीको पावर दिन सक्षम रहेको छ। – एजेन्सी