काठमाण्डौ । नेपाली बैंकिङ उद्योगको लिडर बैंक, एनआइसी एशियाका प्रमुख कार्यकारी अधिकृत(सीइओ) रोशनकुमार न्यौपाने आद्यात्मिक व्यक्तित्व हुन् । उनको दशैं समेत आद्यात्मिक स्टाइलमै बित्छ । 

सानो छँदा पुख्र्यौली घर रसुवाको गाउँघरमा पिङ खेलेको, दक्षिणा भेला पारेर कुखुरा र बाख्रा खरीद गरी आफ्नो पेवा बनाएको, साथीभाईसँग रमाइलो गरेको क्षण सम्झिँदा मात्रै पनि उनी पुलकित हुन्छन् । ‘तर, दशैंसँग जोडिएको सबैभन्दा प्रभावकारी स्मरण चाहिँ चण्डी पाठ हो । म १२ वर्ष उमेरदेखि नै चण्डीपाठ गर्थेँ ।’ न्यौपानेले भने–‘त्यो क्रम आजको दिनसम्म पनि निरन्तर छ । मैले यो पटक पनि प्रत्येक दिन चण्डीपाठ गरेको छु ।’ 

पछिल्लो समय चण्डीपाठसँगै दुर्गा भगवतीको दैनिक पूजाआजा गर्ने, विभिन्न शक्तिपीठहरुको दर्शन गर्ने लगायतका काममा समेत उनी दशैं छुटी खर्च गर्छन् । 

गत वर्ष कोभिडका कारण रसुवा नगए पनि यो पटक भने एकैदिनका लागि नै भए पनि रसुवा जाने उनको सोंच छ । 'गाउँ पुगेपछि भेटघाटमै समय बित्छ ।' न्यौपाने भन्छन्-'वर्षभरि गाउँ जान पाइएको हुँदैन, दशैंको मौकामा गएको बेला यो पटक पनि गाउँघरमा अग्रज र साथीभाईसँग भेट्ने योजना छ ।' 

नयाँ नोटसँगको स्मरण
उनलाई अहिले पनि बैंकमा नयाँ नोट देख्नेबित्तिकै दशैंको सम्झना आउँछ । 'सानामा नयाँ नोटले धेरै नै उत्साहित बनाउथ्यो ।' उनी थप्छन्-'अहिले पनि नयाँ नोट देख्दा दशैं नै आयो कि क्या हो जस्तो लाग्छ ।' 

आफन्तहरुको हातबाट टीका थापी प्राप्त दक्षिणा जम्मा गरेको, साथीभाईसँग कसको दक्षिणा बढी भयो भनेर तुलना गरेको, जम्मा भएको दक्षिणाले कुखुरा र बाख्रा पेवा बनाई पालेका विगत पनि उनको स्मरणमा आइरहन्छन् । 

'आजको दिनमा आफू पैसा दिने ठाउँमा पुगियो ।' उनी भन्छन्-'तर मेरो छोरा पनि दशैंको नोट पाएपछि खुशीले दंग पर्छ । संस्कार भन्ने चिज यस्तै रहेछ ।'  

दशैंको दक्षिणा जम्मा गरेर बाख्रा कुखुरा किन्ने बाल्यकालदेखि नै आफूले लगानी गर्न सिकेछु जस्तो लाग्छ उनलाई हिजोआज । 'पैसा अनावश्यक खर्च गर्नुहुँदैन, भविष्यका लागि बचत गर्नुपर्छ भन्ने चेतना सानैदेखि थियो ।' उनले भने-'म स्कूल पढ्दादेखि नै बचतमा ध्यान दिन्थे । हुन त त्यसबेला पैसा आउने स्रोत पनि कम हुन्थ्यो, तर आएको पैसा खर्च गरिहालौं भन्ने भावना आउदैन थियो ।' 

रसूवाकै दशैं रमाइलो
गत वर्ष कोभिडका कारण काठमाण्डौमै दशैं मनाए न्यौपानेले । 'तर, दशैं त आफ्नै गाउँघरकै रमाइलो ।' ४ दिदी र ५ दाजुभाईमध्येका काइँला रोशनले भ-'काठमाण्डौमा त धेरै भेटघाट नहुने, रमाइलो नै नहुने । वर्षमा एकपटक गाउँ गइने हुनाले रसुवाको बेतिनीमै दशैं रमाइलो मलाई त ।' 

देशकैं ठूलो बैंकको सीइओ बनेपछि जिम्मेवारीहरुले पनि थिचेको छ, यहीकारण पछिल्ला केही वर्षदेखि आफ्नो दशैं आफ्नो मर्जीको हुन छाडेको उनी सुनाउँछन् । 'पहिला आफ्ना लागि दशैं थियो, अहिले बाँडिएको छ ।' उनले थपे-'अहिले आफ्नो मर्जीको दशैं हुन्न ।' 

दशैंमा छुटको बहार
एनआइसी एशिया बैंक पछिल्लो समय लाइफस्टाइल बैंकिङ तथा डिजीटल फ्रस्ट बैंक भन्ने उद्देश्य प्राप्तिमा केन्द्रीत छ । दशैंको अवसरमा डेबिट कार्ड, क्रेडिट कार्ड, मोवाइल, इन्टरनेट र क्यूआर बैंकिङबाट ५ देखि २५ प्रतिशतम्म छुटका अफरहरु बैंकले चलाइरहेको न्यौपानेले बताए । 'हरेक पटकको दशैंमा ग्राहकको सुविधाका लागि यस्ता छुटको बहार नै लिएर आउँछौं ।' उनले भने-'हामीले पछिल्लो समय डिजीटल कारोबारलाई जोड दिएका छौं । एनआइसी एशियाको टोटल कारोबारको ८० प्रतिशत कारोबार अहिले डिजीटलबाटै हुन थालेको छ । यो आर्थिक वर्षको अन्तसम्म ८५ प्रतिशत पुर्याउने योजना छ । मार्केट सेयर पनि १५ प्रतिशत पुगिसकेको छ । डिजीटल फ्रस्ट बैंकको लाइनमा हामी सही बाटोमै छौं ।' 

अर्को दशैंसम्म कहाँ पुग्ला एनआइसी एशिया ?
सीइओ रोशन न्यौपानेका अनुसार एनआइसी एशिया अहिले ४
०० अर्बको ब्यालेन्ससिट साइजको देशकै ठूलो वित्तीय संस्था बनिसकेको छ । 'आउँदो समय यो बैंक आक्रामक रुपमा ग्राहक संख्या बढाउने बाटोमा अग्रसर हुने छैन । अब हाम्रो योजना भनेको सबै डाइमेन्सनको हिसाबले र स्टेक होल्डरका लागि समेत बैंक अफ फ्रस्ट च्वाइस बन्ने नै हो ।' उनले थपे-'यसका लागि हामीले आगामी दिनमा इमेज, एक्सीपिरियन्स, क्यापिसीटी र डिजीटलमा विशेष ध्यान दिनेछौं । बैंकको इमेज राम्रो बनाउने, ग्राहक तथा स्टाफहरुको बैंकप्रतिको अनुभव उत्कृष्ट बनाउने, एचआर, लजिष्टिक तथा क्वालिटी डेलिभरको क्षमता बढाउने दिशामा लाग्नेछौं । यस्तै डिजीटल माध्यमलाई बलियो बनाउने विषय पनि हाम्रो प्राथमिकतमा हुनेछ ।' 

एनआइसी एशियाका ग्राहक संख्या ३० लाख पुग्न लागिसकेका छन् । यहीकारण समेत आफूहरु ग्राहक संख्या बढाउने भन्दा पनि भएकै ग्राहकलाई धेरै खुशी र सन्तुष्ट बनाउने योजनामा रहेको न्यौपाने सुनाउँछन् । 'अब रेट, भोल्युम र नम्बरको हिसाबले भन्दा पनि क्वालिटी र एक्सपिरियन्सको हिसाबले नम्बर वान बैंक बन्नुछ ।' उनले थपे-'अब बैंकिङ गर्दा मज्जा आउनुपर्छ, सजिलो र सही लाग्नुपर्छ । बैंकिङलाई अब हामी पार्ट अफ लाइफ स्टाइल बनाउँछौं ।' 

उनले आफूहरुका लागि मुख्य ५ स्टेकर होल्डर(सेयर होल्डर, डिपोजिटर, बरोअर, नियामक र कर्मचारी)लाई खुशी बनाउने र उनीहरुको नजरमा अप्टिमम भ्यालू क्रिएट गरेर जाने योजना रहेको र यसमा आफूहरु सफल बन्दै गएको समेत दाबी गरे ।