काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण नेपाल भित्रिने रेमिटेन्समा ५० प्रतिशतले कमी आएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार चैतमा करिब ३५ अर्ब रुपैयाँ रेमिटेन्स नेपाल भित्रिएको छ। जब लकडाउनअघिको सामान्य अवस्थामा विदेशमा रहेका नेपालीले मासिक ७० अर्ब रुपैयाँको हाराहारीमा रेमिटेन्स पठाउँदै आएको देखिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताएका छन्। 

कोरोना रोकथामका लागि गत चैत ११ गतेबाट नेपाल लकडाउनमा छ। लकडाउन भोलि वैशाख २५ गते सकिँदैछ। लकडाउनका विषयमा निर्णय गर्न आज मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।

यसैगरी विश्वका कतिपय देशहरु पनि लकडाउनमा छन्। जसका कारण ती देशहरुमा काम ठप्प छन्। यसको प्रत्यक्ष प्रभाव त्यहाँ रहेका नेपाली कामदारहरुमा पनि परेको छ। 

नेपालीहरुको प्रमुख श्रम गन्तव्य साउदी अबर, कतार, दुबई, मलेसिया हुन्। ती देशहरु पनि लकडाउनमा रहेका कारण कतिपय नेपालीहरु काममा जान सकेका छैनन् भने तलब पनि पाइरहेका छैनन्। 

चालु आर्थिक वर्षको फागुनसम्म ५ खर्ब ९२ अर्ब ४२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ। 

यसअघि गभर्नर महाप्रसाद अधिकारीले संसद्को अर्थ समितिमा चालु आर्थिक वर्षमा रेमिटेन्स करिब २० प्रतिशतले घट्ने अनुमानबारे जानकारी गराएका थिए।