काठमाण्डौ । सरकारले घोषणा गरेको एकसाता लामो लकडाउनको दोश्रो दिन देशका अधिकांश भूभाग ठप्प रहे । तथापि, काठमाण्डौ उपत्यका बाहेकका कतिपय ठाउँहरुमा नागरिहरु घरभित्र बसेनन्, सरकारको अपील उल्लंघन गर्दै बाहिर निस्किएका दृश्यहरु धेरै देख्न, हेर्न र सुन्न पाइयो । 
सरकारले कोरोना संक्रमण फैलिन नदिन चालेको कडा कदममा नागरिक स्तरबाट साथ दिइएन भने देश र समाजको अवस्था कति भयावह हुन्छ भन्ने कुरा हेर्न इटली र स्पेनमा भइरहेको तहसनहसको अवस्था नियाले काफी छ । 

कोरोना संक्रमणको सुरुवाती दिनहरुमा इटली र स्पेनमा समेत नेपालमा जस्तै लापरबाही र हेलचेक्र्याई भएको थियो । त्यहाँका सरकारले एक त ढिलो गरी लकडाउनमा जाने निर्णय गरेको थियो भने अर्कोतर्फ नागरिक स्तरबाट ‘आ ! केही हुँदैन’ भन्नेजस्ता गम्भीर लापरबाहीहरु भएका थिए । 

अहिले नेपालको अवस्था पनि ठ्याक्कै त्यस्तै छ । ३ जना संक्रमित भेटिइसकेका छन् । इटलीमा पनि सुरुमा २ जना संक्रमित फेला परेका थिए । त्यसको एक महिनाको अन्तरालमा त्यहाँको अवस्था भयावह भयो । 

बुधबार रातिसम्मको तथ्यांक हेर्ने हो भने इटलीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५०० माथि पुगिसकेको छ । स्पेनमा पनि मृतकको संख्या ३४०० माथि पुगिसकेको छ । इटली र स्पेनमा कोरोना भाइरस संक्रमण फैलिएको यो रफ्तारलाई माथ दिने गरी अमेरिकाजस्तो सर्वशक्तिमान राष्ट्रको चर्चित शहर न्यूयोर्कमा भाइरस संक्रमण सुनामीको गतिमा फैलिइरहेको छ । न्यूयोर्क शहरका गभर्नरले यो भाइरसको संक्रमण फैलावटको गतिलाई ‘बुलेट टे«न’को गतिसँग दाँजेका छन् । त्यहाँ पनि कोरोना भाइरसलाई सामान्य मान्दाको गल्तीले अहिले भयावह अवस्था निम्त्याइसकेको छ । 

यसरी हेर्दा संसारमा जुन–जुन देशमा कोरोना संक्रमणबाट धेरै मानिसले ज्यान गुमाएका छन्, त्यसको कारण देखिएको छ राज्य ढिलो जाग्नु र जनता अटेरी भई अनुशासनमा नबस्नु, राज्यले गरेको आग्रहलाई मान्न छाडेर कोरोना भाइरसको संक्रमणलाई सामान्य फ्लूको रुपमा लिने गल्ती गर्नु ।

कोरोना संक्रमण फैलिएर पनि त्यसमाथि जित हासिल गर्ने चीन, दक्षिण कोरिया, सिंगापुर जस्ता देशहरुको राम्रो पक्ष भनेकै राज्यले समयमै एक्सनमा जानु र जनताले राज्यको आह्वानलाई स्वीकार गर्नु देखिन्छ । 

उसो भए नेपालको अवस्था चाहि के होला त ? 
नेपालको अवस्था पनि दिनप्रतिदिन जटिल हुँदै गएको छ । जटिल यसकारण कि हाम्रो स्वास्थ्य क्षेत्र निकै कमजोर छ । यहाँ पर्याप्त अस्पतालहरु छैनन् । भएका अस्पतालमा पनि पर्याप्त भेन्टिलेटर वा गम्भीर अवस्थाका बिरामी राख्ने ठाउँहरु छैनन् । अमेरिकाजस्तो धनी देशलाई हायलकायल बनाउने कोरोना यहाँ पनि तीव्र गतिमा फैलिए त्यसलाई थेग्नसक्ने शक्ति नेपालसँग छैन । यहीकारण समेत स्वास्थ्य मन्त्रालयका अधिकारी तथा नेपालका सरकारका मन्त्रीहरुले बारम्बार नागरिकहरुलाई घरभित्रै बसिदिन अनुनय गरिरहेका छन् । दैनिकजसो यस्तो अनुनय गर्दा उनीहरुलाई व्यक्तिगत रुपमा केही लाभ हुन्न, यो सबैको पछाडि देशलाई बचाउने, जनताको ज्यानको सुरक्षा गर्ने स्वार्थ लुकेको छ । यो चुरो कुरा जनताले भने नबुझेका देखिएको छ । 

अब के त ? 
दुई दिनको लकडाउन अवधिमा काठमाण्डौ उपत्यकाका जनता बढी अनुशासित देखिए । काठमाण्डौ बाहिरका धेरै शहरका जनता अराजक देखिए । यसको अर्थ हो काठमाण्डौमा कोरोना भाइरस र यसले पुर्याउनसक्ने क्षतिको विषयमा जनताले बिस्तारै कुरा बुझ्न थालेका छन् र सरकारका घोषणाहरुमा साथ दिइरहेका छन् । तर, मोफसलका जनतामध्ये धेरैले ‘कोरोना नेपालमा फैलिहाले पनि काठमाण्डौ मात्र सखाप पार्छ, हामीलाई केही हुँदैन’ भन्ने त्रुटिपूर्ण विश्लेषण गरिरहेका छन् । धेरै लापरबाहीको हद पार गरी सरकार र स्थानीय प्रशासनको आग्रह विपरीत निस्फिक्री डूलिरहेका छन्, मान्छेहरुसँग भेटघाट गरिरहेका छन् । यो प्रवृतिले जुनसुकै बेला महामारी निम्त्याउन सक्छ ।

यस्तो अवस्था अन्तका लागि पनि अब सरकारले एक हप्ते लकडाउनलाई बढाउनुपर्ने सबैतिरबाट आवाज उठ्न थालेको छ । 

त्यसो त नेपाली जनताको पारा र हदैसम्मको हेलचेक्र्याई देखेर सरकारकै प्रभावशाली मन्त्रीहरु समेत जारी लकडाउन बढाउनुपर्ने धारणा सार्वजनिक गर्न थालेका छन् । 

उनीहरुको यस्तो धारणा त्यतिबेला आएको छ, जतिबेला नजिकको छिमेकी भारतले २१ दिन लामो लकडाउनको घोषणा गरी मंगलबार मध्यरातिदेखि नै कार्यान्वय गर्यो ।

भारतसँग सीमा जोडिएको र खुल्ला सीमानाका कारण भारतका कतिपय घोषणासँग नेपालका घोषणा मिल्दाजुल्दा हुनु स्वभाविक हो । किनभने कोरोना त्रासको चिन्ता विश्वकै साझा हो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कतिपय ठाउँका जनताले कुरा नबुझेका भन्दै सरकारले बोल्ड निर्णय लिने र कठोर कदम चाल्न सक्ने भनेका छन् । उनले यसो भनेर लकडाउनलाई अझ कडाई गर्ने र यसको अवधि लम्ब्याउने संकेत गरेका हुन् ।

उच्चस्तरीय समितिको बुधबारको बैठकमा पनि लकडाउनको अवधि बढाउने विषयमा छलफल भएको थियो । अधिकांश मन्त्रीहरुले संक्रमणको अवस्था हेरेर निर्णय लिनुपर्नेमा जोड दिएका थिए । तर, अधिकांश यो लकडाउन कम्तीमा पनि १ हप्ता बढाउनुपर्नेमा सहमत देखिन्थे । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जारी लकडाउन कम्तीमा पनि एकसाताका लागि लम्बिनसक्ने बताएका छन् । उनले भने–‘परिस्थिति हेरेर यो भारतमा जस्तै २१ दिनसम्म पनि जानसक्छ ।’ 

ज्ञवालीले मात्र होइन, पर्यटनमन्त्री योगेश भट्टराईले समेत नेपालमा जारी लकडाउन २१ दिनसम्म लम्बिनसक्ने बताएका छन् । उनको पनि तर्क उस्तै छ–‘जनताले सरकारलाई पूर्ण साथ दिएर घरमै बसिदिएमा मात्र कोरोना संक्रमण फैलनलाई रोक्न सकिन्छ । नभए सरकारले कठोर भई लकडाउनलाई अझ कडाई गर्दै अवधि भारतमा जस्तै २१ दिनसम्म लम्ब्याउनुपर्ने हुन्छ ।’ 

मन्त्रीहरु मात्र होइन, प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरु जारी लकडाउन लम्ब्याउनुपर्ने पक्षमा देखिएका छन् । प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि लकडाउन लम्बिनसक्ने संकेत दिंदै आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । ‘यो बेला जनताको जीवनको सुरक्षा महत्वपूर्ण कुरा हो ।’ उनले भनेका छन् –‘आवश्यक परे अहिलेको लकडाउन अझै केही हप्ता लम्बिन सक्छ ।’ 

हुन त नागरिक स्तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, अन्य राजनीतिक दलहरु लगायतले समेत जारी लकडाउन बढाएर कम्तीमा १४ दिनसम्म पुर्याउनैपर्ने सुझाव समेत दिइरहेका छन् । 

सरकारको अपीलप्रति नागरिकहरु अविवेकी भई प्रस्तुत भइरहे भने लकडाउनको अवधि बढाएर देश र जनतालाई जोगाउनुको अर्को विकल्प सरकारसँग छैन । सरकार समेत भित्रभित्र त्यसका लागि तयार भइसकेको जिम्मेवार मन्त्रीका अभिव्यक्तिहरुले पनि प्रष्ट पारिसकेको छ । यसकारण अब नागरिकहरुले अझै केही साता लामो लकडाउनका लागि समेत आफूलाई तयार राख्नुपर्ने देखिएको छ ।