काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन अवधिमा आमउपभोक्ताको किनमेल सहज बनाउन काठमाण्डौ महानगरपालिकाभित्र सोमबारदेखि बिहान १० बजेसम्म पसलहरु खोल्न पाइने भएको छ।

महानगरपालिकाले स्थानीय प्रहरीसँगको समन्वय बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाएको हो । मेयर विद्यासुन्दर शाक्यले महानगरका सबै वडाध्यक्षलाई स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्। 

मेयर शाक्यको अध्यक्षतामा महानगरको कार्यपालिका बैठक बसेको थियो । बैठकमा मेयर शाक्यले सबै वडाध्यक्षहरु १० बजेसम्म पसल खोल्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए। यसमा वडाध्यक्षहरु पनि सकारात्मक छन् । 

सरकारले पाँचौँ पटक लकडाउन अवधि थप गर्दै वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । सरकारले गत चैत ११ गतेदेखि जारी गरेको देशव्यापी लकडाउनलाई जारी राखेको हो । 

बैठकमा कोरोना नियन्त्रणका लागि वडामा पठाइएको बजेट, वडाबाट भएका काम, राहत वितरणका लागि संकलित विवरण, -यापिड डायग्नोस्टिक परीक्षण, राहत वितरण, निःशुल्क खाना व्यवस्थापनलगायतका विषयमा छलफल भएको थियो ।