काठमाण्डौ । कोरोना भाइरसको संक्रमण दोश्रो चरणमा प्रवेशको घोषणा गरेको सरकारले मानिसहरुको आवागमनमा थप कडाई गर्ने निर्णय गरेको छ । 

जारी लकडाउन लम्ब्याउने विषयलाई थाती राखी सरकारले लोकल टान्समिसनको चरणमा रहेको संक्रमणलाई मास टान्समिसनमा रुपान्तरण हुन नदिने उद्देश्यले एक प्रदेशबाट अर्को प्रदेशमा, एक जिल्लाबाट अर्को जिल्ला तथा एक स्थानीय निकायबाट अर्को निकायमा जान समेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ । 

शनिवार बसेको मन्त्रीपरिषद बैठकले आवागमनमा कडाई गर्ने विषयमा प्रदेश र स्थानीय सरकारलाई प्रभावकारी कदम चाल्न समेत निर्देशन दिएको छ । 

सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले शनिवारको मन्त्रीपरिषद बैठकले लकडाउन लम्ब्याउने विषयमा कुनै निर्णय नगरेको प्रष्ट पार्दै यो विषयमा एक दुई दिनमै पुनः बैठक बसेर निर्णय लिइने जानकारी दिए । 

सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । एकसाता लामो भनिएको लकडाउनलाई बीचमा पुनः लम्ब्याएर चैत २५ गतेसम्म कायम गरिएको थियो । 

लकडाउन अवधिमै कोरोना संक्रमणको दोश्रो चरण सुरु भएको घोषणा गरिसकेका कारण सरकारका अगाडि लकडाउनको अवधि लम्ब्याउने बाहेक तत्काल अर्को विकल्प छैन । सरकारले कम्तीमा पनि ७ दिन लकडाउन लम्ब्याउने तयारी गरिरहेको छ ।